
बुधवार , भाद्र ११, २०८२
भैरहवा, ११ भदौ । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि थप अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने देखिएको बताइएको छ । जोशीलाई हमासले कब्जामा लिएको स्थानको स्थलगत अवलोकनमा फर्किएर आएकाहरुले उनको रिहाइका लागि अहिले भइरहेका प्रयासलाई थप बलियो बनाउनुपर्ने बताएका हुन् ।
जोशीको अवस्था बुझ्न गएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्य स्वाती थापाले विपिन जोशी हाल पनि हमासको नियन्त्रणमा जिवितै रहेको दृढ विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विपिनको रिहाइका लागि सरकारले अन्य मुलुकसँगसमेत सहयोग लिएर हमास नेतृत्वलाई दबाब दिनुपर्ने बताउनुभयो । जोशीलाई हमासले नियन्त्रणमा लिदै गरेको लाइभ भिडियो देखाउँदै विपिनलाई हमासले जिवितै राखेको अनुमान गर्न सकिने थापाको भनाइ छ ।
इजरायलका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसंगको भेटमा विपिनको रिहाइका लागि त्यहाँको सरकारले पनि उच्च प्राथमिकतामा राखेको अनुभव गर्न सकिएको उहाँ सुनाउनुभयो । हमास नेतृत्वलाई दबाब सिर्जना गर्न नेपाल सरकारले अन्य मुलुकको सहयोग लिनुपर्ने थापाको सुझाव छ । उहाँले लेबनान, जोर्ड लगायत अन्य देशहरुसँग पनि यसबारे कुराकानी गर्नुपर्नेमा जोड दिनुभयो ।
लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विपिन जोशीसहितलाई ७ अक्टोबर २०२३ मा नियन्त्रणमा लिएको थियो । उनलाई जिवितै रिहा गराउन नेपाल सरकार, इजरायली सरकार र अन्तर्राष्ट्रिय समुदायले समेत पनि कुटनीतिक पहल गरिरहेका छन् । यही क्रममा विपिनकी आमा र बहिनीसमेत केहीदिन अघि इजरायल पुगेका थिए । उनीहरुले इजरायलका राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गरी विपिनको सुरक्षित रिहाइका लागि अपिल गरेका छन् । जवाफमा राष्ट्रपति हर्जोगले विपिनलाई आफ्नै नागरिकसरह मानेर उनको रिहाइका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो । विपिनको रिहाइका लागि निरन्तर प्रयास भइरहे पनि उनको ठोस अवस्थाबारे भने नयाँ जानकारी सार्वजनिक भएको छैन ।
राप्रपा नेतृ थापाले विपिनकी आमा र बहिनीसँग इजरायलमै भेटेको र त्यहाँको अवस्थाबारे छलफल भएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij