
शुक्रवार , भाद्र ६, २०८२
काठमाडौं, ६ भदौ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ ।
काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताउनु भयो ।
उहाँले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताउनु भयो । उहाँले लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै शिक्षित समाज बनाउन जरुरी रहेको बताउनु भयो ।
सांसद कोईरालाले भन्नुभयो, ‘लोकतन्त्रमा शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा हो । शिक्षित समाज भयो भने सभ्य देश बन्छ । घरमा एउटा महिला शिक्षित भए भने परिवार नै शिक्षित हुन्छ । हामी कतै न कतै चुकिरहेका छौँ । नियम, ऐन, कानून बनाउने मानिसहरु, सरकारमा बस्ने साथीहरु चुकेका छौँ ।
पत्रकार मित्रहरु पनि चुकेको म देख्छु । सार्वजनिक विद्यालयलाई प्रवद्र्धन गर्ने हिसावले अघि बढ्ने हो भने हामी सफल भइन्छ । अहिले राजनीतिक मात्रै सामाजिक अवस्था पनि देशको स्खलनतिर गइरहेको छ । झरिरहेको छ । त्यसलाई उकास्ने जिम्मा स्कुलहरुले पनि लिनुपर्छ, राजनीतिज्ञहरु, कर्मचारीहरुले पनि लिनुपर्छ ।
सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? सकारात्मक सोचका साथ अघि बढ्ने हो भने देशलाई अघि बढाउने कल्पनामा अघि बढ्नसक्छौँ ।’
सांसद कोईरालाले राज्यमा भएका सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भन्नेमा सरकार जानुपर्ने बताउनु भयो । शिक्षाले नै विश्वलाई चिनाउनसक्ने भएकालै शिक्षामा पहिलो जोड दिनुपर्ने बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij