
बिहिवार , भाद्र ५, २०८२
रूपन्देही, ५ भदौ । नागरिकलाई पूँजीबजारमा उत्प्रेरित गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले बुटवलबाट सेवा थालेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले संयुक्त रुपमा वुटवल शाखाको उद्घाटन गर्नुभयो ।
लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरी अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजुले पूँजीबजार देशको अर्थतन्त्रको ऐना रहेको र जनतामा भएको पैसा पूँजीबजारमा आउँदा ठूला परियोजना निर्माणमा लगानी गर्ने वातावरण बन्ने अवस्था रहेको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारवाट आउने वातावरण बन्दै गरेको र लगानीको सुरक्षाका साथै व्यवस्थित र दिगो पूँजीबजारको निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले नेपालको पूँजीबजार सकारात्मकतर्फ जाँदा लगानीको वातावरण बन्ने र पूँजी परिचालन हुने राम्रो पक्ष रहेको बताए ।
कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्ष टंकप्रसाद गौतम र प्रबन्ध निर्देशक गोविन्द प्रसाद दाहालले आर्थिक केन्द्रको रुपमा विकास भइरहेको बुटवल क्षेत्र मोफसलको पूँजीबजारको हब बन्न सक्ने सम्भावना देखेर बुटवलमा शाखा कार्यालय सञ्चालन गरेको र लगानीकर्तालाई पूँजीबजार सम्बन्धी उत्कृष्ट सेवा दिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्रिशक्ति सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरु पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपावाट डिम्याट, टिएमएस्लगाएत शेयर कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको सञ्चालक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij