
मंगलवार , भाद्र ३, २०८२
भैरहवा, ३ भदौ । सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबीन गर्न परमादेश दिएको विरोधमा जनता समाजवादी पार्टी (जसपा), नेपालले रुपन्देहीमा विरोध प्रदर्शन गरेको छ । पार्टीको जिल्ला समिति रुपन्देहीको आयोजनामा मंगलबार मायादेवी गाउँपालिका–७ स्थित बनगाई चोक (मर्चवार सडक) मा प्रदर्शन गरिएको हो ।
सर्वोच्चले १९ वर्षअघि गौरमा भएको हत्याकाण्डको छानबीन गर्न सरकारका नाममा सोमबार परमादेश जारी गरेको थियो । सर्वोच्चको परमादेशविरुद्ध जसपा, नेपालका नेता–कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् ।
भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेपछि सरकारले सर्वोच्च अदालतमार्फत पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि षड्यन्त्र गरेको आरोप लगाउँदै नेता–कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए ।
जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले मधेश आफ्नो अधिकारको लागि जागिसकेको बताउनुभयो । उहाँले उत्पीडित जनताको अधिकारका लागि निरन्तर लड्ने बताउनुभयो । ‘सरकारको यस्तै रहिरहे अब हजारौं उपेन्द्र यादव यहाँ जन्मिनेछन्,’उहाँले भन्नुभयो ।
विरोध प्रदर्शनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङले आज शान्तिपूर्ण आन्दोलन गरिए पनि आगामी दिनमा अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
केन्द्रीय सदस्य रीता यादवले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनविरोधी काम गरिरहेको बताउनुभयो । उहाँले भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेपछि पार्टी अध्यक्ष यादवलाई फसाउन खोजिएको बताउनुभयो । ‘हाम्रो पार्टी अध्यक्षमाथि षड्यन्त्र भएको छ, हामी कदापी स्वीकार्दैनौं, ’उहाँले भन्नुभयो ।
जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवले तराई–मधेशलाई मरुभूमि बनाउन वर्तमान सरकारले भूमिसम्बन्धी अध्यादेश पारित गर्न गर्न खोजेको र त्यो गर्न नदिएपछि सरकारले राजनीतिक प्रतिशोध साधेको बताउनुभयो ।
पार्टीको लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले वर्तमान सरकार पहिचान विरोधी र तानाशाही भएको आरोप लगाउनुभयो ।
समाजवादी विद्यार्थी युनियन, नेपालका वरिष्ठ उपाध्यक्ष राहुल यादवले उपेन्द्र यादव व्यक्ति मात्र नभइ विचार भएको बताउनुभयो ।
सिद्धार्थनगर अध्यक्ष जावेद आलमले भूमिसम्बन्धी अध्यादेश पारित गर्न नदिने आफ्नो अडान नछाडेपछि सरकारले राजनीतिक प्रतिशोध साधेको आरोप लगाउनुभयो ।
विरोध प्रदर्शनमा पार्टीको रुपन्देही जिल्ला उपाध्यक्ष कलामद्दीन खाँ, विष्णु अधिकारी लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij