
आइतवार , भाद्र १, २०८२
भैरहवा, १ भदौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको विस्तारित बैठक शनिबार भैरहवामा सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षतामा बसेको बैठकले आगामी संगठनात्मक अभियान र राजनीतिक गतिविधिहरूबारे निर्णयहरू गरेको हो ।
बैठकले पार्टीको भातृ संगठन समाजवादी युवा संघ, नेपाल केन्द्रीय तदर्थ समितिको गठन हुने भएकाले रुपन्देहीबाट केन्द्रीय सदस्यका लागि जावेद आलम, चन्दन चौधरी र सुरेन्द्र धवललाई सिफारिस गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो ।
उहाँले पार्टीको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आगामी भदौ मसान्तमा हुने जसपा नेपाल लुम्बिनी प्रदेशको अधिवेशन तयारी स्वरूप संगठनात्मक सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण अभियानलाई तीव्रता दिने बैठकले निर्णय गरेको बताउनुभयो । सो अभियानलाई भदौ १५ गतेभित्र सकाउने योजना बनाइएको छ ।
त्यस्तै पार्टीको लुम्बिनी प्रदेश अधिवेशन भदौ २५, २६ र २७ गते रुपन्देहीमा हुने जिल्ला अध्यक्ष यादवले जानकारी दिनुभयो । बैठकमा अघिल्लो निर्णयअनुसार जिल्ला सदस्यमा मनोनित भएकाहरुलाई जिल्ला अध्यक्ष यादवले सपथ गराउनुभएको थियो । त्यस्तै केन्द्रिय सदस्य कैलाश गुरुङ र प्रदेश कार्यबाहक अध्यक्ष रामअवतार यादवले टीका र खादा लगाएर सम्मान गर्नुभएको थियो । जसपा नेपाल जिल्ला सचिव विष्णु अधिकारीको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij