२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

व्यवसायीलाई पर्यटनमन्त्रीको आग्रह–संघर्ष होइन, सहजीकरण समिति बनाउनुस्

शनिवार , श्रावण ३१, २०८२

  • 556
    Shares
  • 556
    Shares
  • भैरहवा, ३१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दबाब दिन नगरप्रमुखको संयोजकत्वमा बनेको संघर्ष समितिलाई सहजीकरण समिति बनाउन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले संघर्षको बाटोबाट वातावरण बिथोलिने भएका कारण सहजीकरणको बाटोबाट अघि बढ्न आग्रह गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालन विषयक छलफल कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने र सरकार पछाडी रहने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई निषेध नभइ नियमन गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई कार्पेट बिछ्यार लगानी गराउनुपर्ने पक्षमा सरकारले रहेको बताउनुभयो ।
    कसैले नचलेको एअरपोर्ट चलाउन सक्छ भने किन नदिने ? भैरहवामा विमानस्थल नबनाएर कहाँ बनाउने ? उहाँले प्रश्न गर्नुभयो । ‘यो एअरपोर्ट चल्छ, गुल्जार भएर चल्छ, संसारभरका एअरपोर्टले सुरुमा दुःख पाएका छन्, सुरुमा एअरपोर्ट गुल्जार हुँदैन, यो एअरपोर्ट नचले अर कुनै चल्दैन, ’उहाँले भन्नुभयो । मन्त्री पाण्डेले निराशा सम्प्रेषण नगर्न आग्रह गर्दै विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्गलाई प्रभावकारी बनाउन आफूले नेपाल एअरलायन्ससँग कुरा गर्ने बताउनुभयो ।

    निजी क्षेत्रले बडो जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । ‘मन्त्री बोलेर मात्र विमानस्थल हुँदैन । तर, यसको नेतृत्व हामीले गर्नुपर्छ,’ मन्त्री पाण्डेले भन्नुभयो । उहाँले हवाईजहाजको टिकटमा भ्याट घटाउन अर्थ मन्त्रालयमा पुगेको तर, सिस्टमले भ्याट घटाउन नदिएको बताउनुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले विमानस्थल सञ्चालनका लागि दबाब दिन संघर्ष समिति गठन गर्नु दुर्भाग्यको कुरा भएको बताउनुभयो । उहाँले लुम्बिनीको विकास मुलुकको विकाससँग जोडिएकोले विमानस्थल सञ्चालन हुनैपर्ने जिकिर गर्नुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले वमानस्थल चल्छ की चल्दैन ? भन्ने कुरा सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले एउट विषयमा पटकपटक छलफल गरिरहँदा र सञ्चारमाध्यममा आउँदा समेत विमानस्थलबारे सरकारले वेवास्ता गरिरहेको आरोप लगाउनुभयो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विभिन्न समस्या सिर्जना भएको बतानुभयो । उहाँले यहाँबाट भिसा, श्रम स्वीकृती, म्यानपावर र मान्यता प्राप्त भएका स्वास्थ्य संस्थाहरु नहुँदा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउनुभयो ।

    सिद्धार्थ उवासंघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सरकारले विमानस्थल चलाउन नसक्ने भए निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्ने बताउनुभयो । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार श्रेष्ठले विमानस्थल सञ्चालन नभए संघर्षको विकल्प नरहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले कर्मचारीतन्त्रको इच्छाशक्ति नभएर विमानस्थल नचलेको हो कि भन्दै प्रश्न गर्नुभयो । 

    सिद्धार्थ उवासंघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले अहिले जस्तो बलियो सरकारले विमानस्थल चलाउन नसके अरु कुन सरकारले चलाउँछ भन्दै प्रश्न गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति राजेश कुमार अग्रवालले सरकारमा भएका व्यक्तिहरुसँग इच्छाशक्ति नभएर विमानस्थल नचलेको बताउनुभयो ।

    पर्यटन व्यवसायी आशा गुरुङले सरकारले गरेको कतिपय निर्णय पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले बेलहियास्थित अध्यागमन कार्यालयमा सीमित कर्मचारीका कारण समस्या भएको बताउनुभयो ।

    व्यवसायी बासु बडालले उपनिर्वाचनलाई लक्षित गरेर विमानस्थल सञ्चालन भन्दा दीर्घकालीन रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ उवासंघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले यस क्षेत्रको कृषि उत्पादनलाई विश्व बजारमा पुर्याउने वातावरण तयार गरिदिनका लागि मन्त्री पाण्डेलाई आग्रह गर्नुभयो । 

    व्यवसायी दीपेन्द्र पौडेलले एअरपोर्ट सञ्चालनका लागि सरकारबाट आश्वासन मात्र पाइएको बताउनुभयो । नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले पटकपटक विमानस्थल सञ्चालनका लागि ध्यानाकर्षण गराउँदा पनि प्रतिवद्धता मात्र आएको बताउनुभयो ।

    पर्यटन व्यवसायी संजय बजिमयले विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्रको अरबौं लगानी डुब्न लागेको बताउनुभयो । अर्का पर्यटन व्यवसायी संजीव जोशीले सरकारले चाहेमा यो विमानस्थल संञ्चालनमा कुनै समस्या नरहेको बताउनुभयो ।

    सिद्धार्थ उवासंघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।