
शुक्रवार , श्रावण ३०, २०८२
भैरहवा, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबारदेखि रुपन्देहीको भैरहवामा सुरु भएको छ । प्रशिक्षण भैरहवास्थित दरबार बैंक्वेटमा शनिबारसम्म सञ्चालन हुने रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम अन्तर्गत शुक्रबार उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, डा. तोसिमा कार्की र क्रान्तिशिखा धितालले सहजीकरण गर्नुहुने सह–महामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिन कुमार आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै शनिबार महामन्त्री कबिन्द्र बुर्लाकोटी, सह–महामन्त्री विपिन कुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सचिव एवं केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी र लुम्बिनी प्रशिक्षण विभाग प्रमुख राजकुमार सुवेदीले सहजीकरण गर्नुहुनेछ ।‘प्रशिक्षणमा केन्द्रको संरचनाले दिनुपर्ने र तलको संरचनाले मागेका विषयका बारेमा छलफल हुन्छ, ’उहाँले भन्नुभयो ।
प्रशिक्षणमा रुपन्देही–३ मा कार्तिक १७ हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारको आकांक्षीहरुको परिचयात्मक कार्यक्रम समेत हुने सह–महामन्त्री आचार्यले जानकारी दिनुभयो ।
प्रशिक्षणमा पालिकाका पदाधिकारी, सदस्यहरु लगायत गरी २५० जनाको सहभागीता रहेको रास्वपा प्रदेश सभापति देवराज पाठकले जानकारी दिनुभयो ।
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी संगठन निर्माणकै क्रममा रहेको र यो प्रशिक्षणपछि संगठन अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशिक्षण कार्यक्रमले नेतृत्व निर्माणमा अहम भूमिका खेल्ने बताउनुभयो ।
प्रशिक्षण उद्घाटन अघि पत्रकारहरुसंँग कुराकानी गर्दै पार्टी महामन्त्री बुर्लाकोटीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बोल्ने मञ्चको दुरुपयोग गरेको टिप्पणी गर्नुभयो । बिहीबार संसद्मा आफ्नो पार्टीका नेताहरूलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति इंगित गर्दै बुर्लाकोटीले मुलुकमा सुशासन कायम गर्न समय खर्चिनुपर्ने प्रधानमन्त्रीले विपक्षीको आलोचनामै आफू बोल्ने मञ्चको दुरुपयोग गर्नुभएको बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij