२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लोसपामा लोकतन्त्र छैन, ममाथि विभेद गरियो : प्रशान्त गुप्ता

बिहिवार , श्रावण २९, २०८२

भैरहवा, २९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्व केन्द्रीय सदस्य तथा युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले पार्टीभित्र लोकतन्त्र नरहेको बताउनुभएको छ । उहाँले नाममा लोकतान्त्रिक भए पनि व्यवहारमा भने लोसपामा लोकतन्त्र नभएको दावी गर्नुभयो ।

बिहीबार रुपन्देहीको भैरहवामा पत्रकार सम्मेलन गर्दै गुप्ताले लोसपामा भएको विभेदको विरोध र लोकतान्त्रिक रुपमा मन्त्री चयन गर्नुपर्छ भनेर आवाज उठाउँदा आफूलाई पार्टीबाट निष्काशित गरिएको बताउनुभयो । ‘एउटा युवा (माननीय कन्हैया बनिया) लाई यसपटक मौका दिनुपर्छ भनेर आवाज उठाएको हुँ, आवाज उठाउँदा कुनै स्पष्टीकरण नसोधी मलाई पार्टीबाट निष्काशन गरियो, आफ्नो ज्यानको बाजी लगाएर आन्दोलनमा लागेको जनताको सिपाही हुँ, ’उहाँले भन्नुभयो ।

एक–दुई नेताले भन्दैमा पार्टीबाट कारवाही गर्नु कत्तिको जायज हो भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘लोसपाका केही नेताहरुले आज पार्टीलाई प्राइभेट कम्पनीमा ढाल्दै जानुभएको छ । मधेश आन्दोलन र आन्दोलनकारीहरुको मुद्दाको योगदानको सम्मान हुन छाडेको छ । ‘सत्ता केन्द्रीत राजनीति हावी हुँदै गएको छ । पुस्तान्तरण गर्ने नयाँ पिढीलाई पालो दिने कुराहरु कुरामा सीमित हुन थालेको आभाष भएको छ, ’उहाँले भन्नुभयो । 

गुप्ताले लोकतान्त्रिक पद्दति अनुरुप नै फरक मत प्रकट गर्दा पार्टीबाट अलोकतान्त्रिक व्यवहार भएको बताउनुभयो । ‘कसैले मेरो व्यक्तिगत निष्ठामा प्रहार गर्दैमा हार खाने व्यक्ति होइन, मधेशको कुनाकुनामा गएर मधेशबासीको घाउमा मल्हम लगाउन न हिजो कसैले रोक्यो, न आज रोक्छ, न भोली नै रोक्न सक्छ, ’उहाँले भन्नुभयो ।

चारपटक प्रदेशको मन्त्री भइसकेको व्यक्तिको रिपोर्ट कार्ड खोइ भन्दै उहाँले प्रश्न गर्नुभयो । कसको दबाबमा एकै व्यक्तिलाई प्रत्येक पटक मन्त्री बनाइयो भनेर आफूले आवाज उठाएको उहाँले बताउनुभयो । आफूले तानाशाही प्रवृत्तिको निरन्तर विरोध गरिरहने उहाँले बताउनुभयो ।

IMG_0328.JPG

गुप्ताले निकट भविष्यमा कुनै न कुनै प्रक्रिया र पद्दतिबाट पुनः समाजसेवामा आउने तथा देश र मधेशको हितका लागि उभिने उहाँको भनाइ छ । उहाँले बिहीबार (आज) नै रुपन्देहीमा १५३ जनाले लोसपाबाट सामूहिक राजीनामा दिने बताउनुभयो ।