२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

सञ्चार जगतलाई बदनाम गरेको भन्दै रास्वपाबाट उम्मेदवारका आकांक्षी उपाध्यायलाई कारवाहीको माग

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आकांक्षी रहेका पार्थिवेन्द्र उपाध्यायले दिनुभएको अभिव्यक्तिप्रति पत्रकार सम्बद्ध संघ–संस्थाहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले समग्र श्रमजीवी पत्रकारहरु र सञ्चारमाध्यममाथि आक्षेप लाग्ने गरी दिइएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण जनाएका हुन् ।

बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरुले उपाध्यायमाथि कारवाहीको माग गरेका छन् । ‘केही दिनअघि रास्वपा केन्द्रीय कार्यालयमा आफ्नो भनाइ राख्ने क्रममा उपाध्यायले सिंगो मुलुकका पत्रकार र सञ्चार जगतलाई बदनाम गर्ने उद्देश्यले कानूनविपरीत गइ दिएको अभिव्यक्तिको सत्यतथ्य बुझेर आवश्यक अनुसन्धान गरी कारवाहीका लागि जोडदार माग गर्दर्छौं, ’ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, पत्रकार महासंघ रुपन्देही शाखाका कोषाध्यक्ष नरेश केसी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोखरेल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारी नेपाल रुपन्देहीकी अध्यक्ष भगवती पाण्डे, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सचिव दीपक घिमिरे, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ता र मधेशी पत्रकार समाज रुपन्देहीका कोषाध्यक्ष रबिन्द्र प्रताप गुप्ताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उपाध्यायले दिएको अभिव्यक्तिमाथि अनुसन्धान गरी कारवाही गर्न माग गरिएको हो ।

उपाध्यायले नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र पत्रकारिता जगतप्रति कुदृष्टि राखी स्थानीय र अन्य कुनै मिडिया आवश्यक नभएको, समाचार पढ्दा हाँसो उठ्ने, सबै पत्रकार पाँच हजारमा बिक्ने गरेको लगायतका गम्भीर र अमर्यादित अभिव्यक्ति दिइ समाजमा भ्रम पैदा गर्ने काम भएको पत्रकारहरुको भनाइ छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले स्वतन्त्र पत्रकारिताको सम्मान गर्ने बताउँदै पार्थिवेन्द्र उपाध्यायले दिएको अभिव्यक्तिबारे सत्यतथ्य बुझ्ने बताउनुभयो । उहाँले उपाध्यायको अभिव्यक्ति गलत भएको पाइएमा उहाँ कारवाहीका भागेदार बन्ने बताउनुभयो ।