
मंगलवार , श्रावण २७, २०८२
भैरहवा, २७ साउन । जनता समाजवादी पार्टी (जसपा), नेपालको प्रदेश अधिवेशन रुपन्देहीमा हुने भएको छ । पार्टीको सोमबार दाङमा सम्पन्न प्रदेश कार्यकारिणी समितिको बैठकले अधिवेशन रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।
भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको सर्कुलर अनुसार सोही मितिमा हुने जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष रामअवतार यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसार पार्टीको संगठित सदस्यता नविकरण भदौ १५ गतेसम्म गरिसक्नुपर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै किसानले समयमै मल, खाद समयमै पाउन नसक्दा धेरै समस्या भएकोले सरकारलाई ध्यानाकर्षण गराउन मुख्यमन्त्रीलाई र प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष राम अवतार यादवको अध्यक्षता तथा मुख्य सचिव राजन बहादुर रानामगरको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
प्रदेश अधिवेशन भव्य रुपमा सम्पन्न बनाउन तयारी थालिएको जसपा नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij