
सोमवार , श्रावण १९, २०८२
भैरहवा, १९ साउन । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा आँखा, नाक, कान तथा घाँटी सम्बन्धीे निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरेको छ । लुम्बिनी नेत्रालय प्रा.लि. र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवा, रुपन्देहीको प्राविधिक सहयोगमा क्लबले सोमबार सिद्धार्थनगर नगरपालिका–१२ स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा उक्त कार्यक्रम गरेको हो ।
क्लबले स्वास्थ्यलाई प्राथमिकता दिएको र विगतमा पनि यो विद्यालयमा कार्यक्रम गरिसकेको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष विष्णु शर्माले बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । अध्यक्ष शर्माले विद्यार्थीहरुलाई प्रोत्साहन गर्न शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका–१२ का वडाअध्यक्ष कुमार गुरुङले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले विभिन्न महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा वडा कार्यालयले यो क्लबसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले निःशुल्क स्वास्थ्य शिविर पवित्र कार्य भएको बताउनुभयो ।
विशिष्ट अतिथि सिद्धार्थनगर–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले रोटरी सेन्ट्रल लुम्बिनीले कार्यक्रमका लागि उपयुक्त स्थान छनौट गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोबिन्द प्रसाद बस्यालले विद्यालयलाई रोजेर कार्यक्रम गरेको भन्दै क्लबलाई धन्यवाद दिनुभयो ।
सिद्धार्थनगर सिटी हस्पिटलका डा. न्यूटन ज्ञवालीले समयमै रोगको पहिचान भए उपचार पनि सहज रुपमा हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक ममता प्रधानले विद्यालयमा हाल ६५ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताउनुभयो ।
रोटरी सेन्ट्रल लुम्बिनीका संस्थापक अध्यक्ष विमल सेन्चुरीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
कार्यक्रम संयोजक, क्लबका पूर्वअध्यक्ष तथा लुम्बिनी नेत्रालयका प्रबन्ध निर्देशक डा. हिरा बहादुर शाहको स्वागत तथा क्लबका सह–सचिव दिनेश पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विद्यार्थी तथा अभिभावक गरी ६५ जनाको स्वास्थ्य परीक्षण तथा ५५ जनालाई शैक्षिक सामग्री वितरण गरिएको रोटरी सेन्ट्रल लुम्बिनीका कोषाध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रममा क्लबका पूर्व सचिव गंगाधर भण्डारीका छोरा आरुष भण्डारीले शैक्षिक सामग्रीवापतको रकम सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij