२०८२, आश्विन १ गते

Sep 17 2025 | २०८२, आश्विन १ गते

अस्थिरतावादीले एमालेलाई कमजोर बनाउने प्रयास गरेका छन् : लिला गिरी

शनिवार , श्रावण १७, २०८२

  • 889
    Shares
  • 889
    Shares
  • बुटवल, १७ साउन । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले मुलुकमा अस्थिरता निम्त्याउनका लागि नेकपा एमालेमाथि चौतर्फी आक्रमण भएको बताउनुभएको छ । उहाँले त्यसको डटेर सामना गर्न नेता–कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । 

    लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रुपन्देहीको शनिबार बुटवलमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री गिरीले एमालेलाई खण्डित पार्ने र कमजोर बनाउने गतिविधिहरुप्रति सचेत रहन आग्रह गर्नुभयो । उहाँले एमालेको नेतृत्वमा भएका जनपक्षीय कामहरुबाट अस्थिरतावादीहरु अत्तालिएका कारण चलखेल हुन थालेको उल्लेख गर्नुभयो । एमाले पोलिटब्यूरो सदस्य समेत रहनुभएका गिरीले पार्टीलाई कमजोर बनाउनकै लागि वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पार्टीबाट अलत राख्नुपर्छ भन्ने गलत मान्यतासहित विवाद सिर्जना गराउन खोजिएको बताउनुभयो । उहाँले एमालेलाई कमजोर पार्नकै लागि नेतृत्वका विषयमा विवाद सिर्जना गराउन खोजिए पनि त्यो सम्भव नभएको उल्लेख गर्नुभयो । 

    मुलुकमा भएका विभिन्न राजनीतिक आन्दोलनहरुसँगै सबै जाति, धर्म तथा समाजका व्यक्तिलाई समान अधिकार हुनुपर्छ भन्ने मान्यताका साथ एमाले अघि बढेको उहाँको भनाइ छ । मुलुकमा कुनै एक जाती विशेष संगठन वा पार्टी निर्माण गर्ने कुरालाई जनताले अस्वीकार गर्ने बताउँदै उहाँले सबै जात–जाती, भाषा, धर्म र परम्पराको सम्मान गर्दै समान पहुँच र सहभागीताको पक्षमा एमाले रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासाङ सेर्पाले आदिबासी जनजातिहरुको अधिकार स्थापित गर्नका लागि एमालेले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गराउनुभयो । 

    कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरी, एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लोकतान्त्रिक आदिवासी महासंघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पुन, सचिव हिरु राना लगायतले बोल्दै संगठनलाई थप सदृढ बनाउँदै पार्टीको मार्गनिर्देशन अनुसार गतिशिल रहन आग्रह गर्नुभयो ।