
शनिवार , श्रावण १७, २०८२
भैरहवा, १७ साउन । लायन्स क्लब अफ सिद्धार्थनगरले बालबालिकाहरुलाई खिर खुवाएको छ । क्लबले शुक्रबार एक कार्यक्रमकाबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा रहेका बालबालिकालाई खिर खुवाएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२ (पी) डिष्ट्रिक ग्याट टीम जीएमएच कोर्डिनेटर ओम कुमार श्रेष्ठले पवित्र महिना साउनमा लायन्स क्लब अफ सिद्धार्थनगरले पवित्र कार्य गरेको बताउनुभयो । उहाँले धार्मिक, आध्यात्मिक र साँस्कृतिक हिसाबले पनि साउन महिना महत्वपूर्ण रहेको बताउनुभयो । श्रेष्ठले लायन्स सिद्धार्थनगरले गरेको यो कार्यक्रमले राम्रो सन्देश दिएको बताउनुभयो ।
त्यस्तै लायन्स डिष्ट्रिक को–चिफ एडभाईजर तथा लायन्स सिद्धार्थनगरका पूर्वअध्यक्ष नेत्र प्रसाद आचार्यले लायन्सले नेपाल अविनाश अनाथ आश्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि क्लबले कार्यक्रमहरु गर्दै जाने बताउनुभयो ।
लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२५/०२६ का अध्यक्ष धर्मराज आचार्यले नेपाल अविनाश अनाथ आश्रमसँग क्लबको गहिरो सम्बन्ध रहेको बताउनुभयो । उहाँले लायन्स सिद्धार्थनगरले आश्रममा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
आश्रमका अध्यक्ष श्रीकृष्ण ज्ञवालीले हाल आश्रममा २४ जना बालबालिका रहेको जानकारी दिनुभयो । उहाँले आश्रमलाई रोजेर कार्यक्रम गरेको भन्दै लायन्स क्लब अफ सिद्धार्थनगरलाई धन्यवाद दिनुभयो ।
कार्यक्रम संयोजक गोकुल कंडेलको स्वागत तथा लायन्स सिद्धार्थनगरका सचिव रघु प्रसाद खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij