
शनिवार , श्रावण १७, २०८२
बुटवल, १७ साउन । लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको उद्घाटन गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरिएको हो ।
भ्यू प्वाइन्टको शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्क निर्माण गर्न सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय हो । संरक्षण र सम्वद्र्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्छ । पार्कहरूलाई आयआर्जनको स्रोतका रूपमा रूपान्तरण गर्न सकिन्छ ।’
कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा तथा सरोकारवालाहरूको उपस्थिति थियो ।
लुम्बिनी प्रदेश सरकारले प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा र सामूदायिक सहभागीतालाई जोड दिदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ । जितेश्वरी पाणिनि उद्यानबाट बुटवल सहर तथा आसपासको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij