२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

लुम्बिनी विकास कोष कर्मचारी यूनियन आन्दोलित

शुक्रवार , श्रावण ९, २०८२

भैरहवा, ९ साउन । लुम्बिनी विकास कोष कर्मचारी यूनियनले आफ्ना माग पूरा नभएको भन्दै शुक्रबार (आज) देखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ । युनियनले सम्बन्धित निकायमा पटकपटक पत्र पठाउँदा पनि माग सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताएको छ । 

आन्दोलनका कार्यक्रम अनुसार साउन ९ गते कालोपट्टी बांधेर आन्दोलन गर्ने, साउन १२ गते पेनडाउन गर्ने र सोही दिन साँझ ४ बजेसम्म कोषका सम्पूर्ण गाडीहरु कोषको प्रागंणमा थन्काउने बताएको छ । 
त्यसै गरी साउन १३ गते सम्पूर्ण प्रक्रिया पूरा गरी कोषको प्रधान कार्यालय र आवास क्षेत्र समेतमा तालाबन्दी गर्ने तय भएको यूनियनका अध्यक्ष अब्दुल वाफा मुसलमानले बताउनुभयो । 

चार बुँदे मागसहित आन्दोलनमा उत्रिएको यूनियनले संचित बिदा, कोष भत्ता, महंगी भत्ता उपलब्ध गराउन माग गरेको छ । त्यसै गरी २०७९ कर्मचारी विनियमावली संशोधनमार्फत उमेर हद लागू नहुने गरी सिमित प्रतियोगितात्मक परीक्षाबाट हाल सेवा करारमा रहेका सम्पूर्ण कर्मचारीलाई पदपूर्ति गर्नुपर्ने यूनियनको माग छ । यूनियनले दरबन्दी चाँडै स्वीकृत गराई सम्पुर्ण कर्मचारीहरुलाई स्थायी गर्न पनि माग गरेको छ ।

त्यस्तै २०७९ कर्मचारी विनियमावली अनुसार स्थायी कर्मचारीहरुलाई पद बढुवा गर्नुपर्ने माग पनि गरेको छ ।