
आइतवार , श्रावण ४, २०८२
बुटवल, ४ साउन । बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रूपन्देही, लुम्बिनीको ३० औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सुरु भएको छ । आइतबार (आज) देखि सुरु भएको स्थापना दिवसको पहिलो कार्यक्रम निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आफू अटो व्यवसायीको हकहितमा काम गरिरहेको दावी गर्दै आवश्यक बजेट तथा अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले अब मैनाबगरमा ईभि गाडीको पनि मर्मत हुने गरी सम्पूर्ण व्यवस्थापनको कामहरु गर्न आग्रह गर्नुभयो । उहाँले हरियाली मैनाबगर बनाउनुका साथै दानव नदी करिडोर क्षेत्रले विस्थापित हुने व्यवसायीको प्रतिस्थापनसहितको एजेण्डा पारित गरेर आउन सुझाव दिनुभयो ।
उहाँले अटोभिलेजको क्षेत्रमा उपमहानगरले आफुखुसी निर्णय नगरेको बताउँदै आगामी दिनमा पनि निर्णय नगर्ने भएकोले सभाबाट पारित गरेर आएमा जस्तोसुकै कार्यका लागि पनि बुटवल सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन रूपन्देही भन्दा अघि कर्णेल उजिरसिंह नाम थपेर पहिचान स्थापना गर्न कार्यसमितिलाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा संस्थापक अध्यक्ष खडक बहादुर गौतमले संस्था स्थापनाको अवस्थादेखि अहिलेसम्म आइपुग्दाको बारेमा उल्लेख गर्दै अझै पनि जनशक्ति अभावको समस्या अटो क्षेत्रमा देखिरहेको बताउनुभयो । उहाँले यो क्षेत्रलाई राज्य तथा अन्य समुदायको नजरमा माथि उठ्न नसकेको उल्लेख गर्दै सम्मान उचो हुने गरी कार्य गर्न व्यवसायीलाई सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष प्रेम गौचनले मैनाबगर क्षेत्रका सडकमा अब हिलो नहुने बताउँदै सडक तथा अन्य पूर्वाधारहरुले भरिपूर्ण बन्दै गइरहेको बताउँदै हाईमास्ट लाईटले रातीमा पनि काम गर्न सक्ने वातावरण बनिरहेको उल्लेख गर्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक गैरेले अटो क्षेत्र यातयातको मुटु भएको बताउँदै बुटवल बनाएको गाडी भनेपछि निर्धक्क हुने मनस्थितिलाई जोगाइराख्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
महसचिव पुनित पोखरेलले आइतबारदेखि सुरु भएको स्थापना दिवसको कार्यक्रम अन्तरगत साउन ६ गते वृक्षरोपण कार्यक्रम, ९ गते ब्याडमिन्टन प्रतियोगिता कार्यक्रम, १० गते फुटसल प्रतियोगिता तथा १३ गते समापन कार्यक्रम हुने जानकारी दिनुभयो ।
आइतबार भएको स्वास्थ्य शिविरमा १ सय ८ जना अटो व्यवसायी तथा मजदूरको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक एवं लेखा समिति संयोजक रोशन पाण्डेयले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा पनि १ सय ८ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं उद्योग उपाध्यक्ष ध्रुव राज भुसालले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij