
सोमवार , आषाढ ३०, २०८२
काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले यसबारेमा सोचिरहेको बताउनु भयो । स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनु भयो । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्ने, पुनःविचार गर्ने आवश्यकता छ । यसमा गर्दैछौँ । नत्र भने हामीले कतिपय ठाउँहरुमा छलछाम हुने गरेको छ । त्यसलाई हामीले रोक्नुपर्ने छ । वास्तवमा जनताको सेवा कसरी वृद्धि गर्ने, सुहाउँदो गच्छ्य अनुसार । एकातिर आवश्यकताहरु हुन्छन् । चाहनाहरु हुन्छन् । अर्कोतिर यथार्थ अवस्था हुन्छ । चाहनाहरु असिमित हुनसक्छन् । आवश्यकताहरु धेरै हुनसक्छन् । तर अवस्था त्यस्तो छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था बनेको छ ।’
प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताउनु भयो । आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij