
सोमवार , आषाढ ३०, २०८२
काठमाडौं, ३० असार । आजको विश्व कुटनीतिको रङ्गमञ्चमा भारत आफूलाई एक प्रमुख पात्रको रूपमा स्थापित गर्न तिब्र गतिले अघि बढिरहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ दिल्लीले विकासोन्मुख विश्व, अर्थात ‘ग्लोवल साउथ’को स्वाभाविक आवाज बन्ने, परम्परागत शक्ति संरचनामा सुधारको माग गर्ने र नयाँ विश्व व्यवस्था निर्माणमा निर्णायक भुमिका खेल्ने स्पष्ट महत्वाकांक्षा प्रदर्शन गरेको छ । अफ्रिका, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकहरूसँगको बढ्दो सम्बन्ध, ‘भ्वाइस अफ ग्लोवल साउथ समिट’ को आयोजना, जी ट्वान्टी को मञ्चबाट अफ्रिकी संघलाई स्थायी सदस्यता दिलाउने ऐतिहासिक सफलता, र ‘भ्याक्सिन मैत्री’ जस्ता कार्यक्रमहरू यसका ज्वलन्त प्रमाण हुन् ।
यी प्रयासहरूले भारतलाई विश्वको एक जिम्मेवार र उदार शक्तिको रूपमा प्रश्तुत गर्न खोजेका छन् ।
पछिल्लो १५ दिनलाइ हेर्ने हो भने प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई २ देखि ९ सम्म घाना, त्रिनिदाद एण्ड टोबागो, अर्जेन्टिना, ब्राजिल र नामिबियाको सफल भ्रमण सम्पन्न गर्नुभयो । यो भ्रमण ‘ग्लोवल साउथ’ सँगको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनमा केन्द्रित थियो । उहाँले ब्राजिलमा १७ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिनुभयो र विभिन्न देशहरूसँग रक्षा, ऊर्जा, व्यापार र डायस्पोरा सम्बन्धमा महत्वपूर्ण सहमति गर्नुभयो । भ्रमणको विशेष उपलब्धि स्वरूप उहाँलाई घाना, त्रिनिदाद एण्ड टोबागो, ब्राजिल र नामिबियाले आ–आफ्नो सर्वोच्च नागरिक सम्मानबाट विभूषित गरे र जसले भारतको बढ्दो वैश्विक छविलाई प्रकाशमा ल्याएको छ ।
मोदीको ग्लोवल साउथ रणनीतिः ‘विश्वगुरु’ बाट ‘विश्वमित्र’ सम्मको यात्रा
प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतीय विदेश नीतिले एक विशिष्ट वैचारिक मोड लिएको छ । परम्परागत पश्चिमा केन्द्रित विश्व व्यवस्थाबाट अलग्गिएर विकासोन्मुख राष्ट्रहरूको एक स्वतन्त्र, स्वाभिमानी र एकीकृत आवाज बन्ने महत्वाकांक्षा हरेक कुटनीतिक पहलमा झल्किन्छ । शुरुवाती दिनहरूको ’विश्वगुरु’ को अवधारणा, जसले भारतलाई एक आध्यात्मिक र बौद्धिक मार्गदर्शकको रूपमा प्रश्तुत गथ्र्यो, अहिले परिमार्जित भएर ‘विश्वमित्र’ को अवधारणामा रूपान्तरित भएको छ । यसले भारत अब उपदेश दिने होइन, बरु साझा समस्याहरूको समाधानका लागि हातेमालो गर्ने एक सहयात्री र मित्र बन्न चाहेको संकेत गर्छ ।
‘जी ट्वान्टी’ को अध्यक्षता, ‘भ्वाइस अफ ग्लोवल साउथ समिट’ र अफ्रिकी संघको सदस्यता जस्ता कार्यहरू दक्षिण विश्वको निर्विकल्प प्रतिनिधि बन्ने भारतको गहिरो रणनीतिक प्रयासका उपज हुन् । यसका साथै, आफ्नो सफल डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरलाई अन्य विकासोन्मुख देशहरूसँग निःस्वार्थ बाँड्ने प्रश्तावले भारतलाई समस्याको समाधान दिने एक प्राविधिक मित्र राष्ट्रको रूपमा पनि स्थापित गर्न खोजेको छ । यस्ता क्रियाकलापले भारतको छवि विश्वभर चम्काइरहेको भएपनि यसको वास्तविक धरातलको परीक्षण भने दक्षिण एशियाको भुइँमा भइरहेको छ । जहाँ उसको छवि अझै पनि धमिलो, असंगत र अविश्वसनीय छ ।
यो चम्किलो कुटनीतिक उडानसँगै एउटा असहज र आधारभुत प्रश्न पनि उब्जन्छः आफ्नै छिमेकीहरूको मन जित्न नसकेको र उनीहरूको विश्वासको जग बलियो बनाउन नसकेको भारतले समग्र ‘ग्लोवल साउथ’ को नेतृत्व कसरी गर्नसक्छ ? भारतको वैश्विक महत्वाकांक्षाको विमानले जतिसुकै उचाइ लिएपनि त्यसको धावनमार्ग रहेको आफ्नै घर–आँगन, अर्थात दक्षिण एशिया, अझै पनि अविश्वास, तनाव र द्वैध चरित्रको कुहिरोले ढाकिएको छ । यथार्थमा, कुनैपनि राष्ट्रको अन्तर्राष्ट्रिय विश्वसनीयताको पहिलो र सबैभन्दा महत्वपूर्ण परीक्षण उसले आफ्नै छिमेकीहरूसँग कायम गरेको सम्बन्धबाट हुन्छ । नेपाली समाजमा गहिरोसँग जडिएको उखानले भनेजस्तै, “घर सुधारेपछि मात्र चौतारीमा उठ्ने ठाउँ मिल्छ।”
छिमेक सम्बन्ध : विश्वसनीयताको गहिरो दरार
भारतको विदेश नीतिको घोषित मन्त्र ‘नेबरहुड फस्र्ट’ भएपनि व्यवहारमा उसको छिमेक सम्बन्ध प्रायः तनावग्रस्त र अविश्वासले भरिएको देखिन्छ । नेपालसँगको सम्बन्ध नाकाबन्दीको तीतो घाउ, कालापानी–लिपुलेक जस्ता सीमा विवादको नमिठो स्मृति र बेलाबेलामा हुने राजनीतिक हस्तक्षेपको आरोपले गर्दा बारम्बार चिसिने गर्छ । बंगलादेशसँग सौहार्द्रपूर्ण सम्बन्धको कथा गाइए पनि, वर्षौंदेखि अल्झिएको टिस्टा जल बाँडफाँटको मुद्दाले विश्वासको धागो पहिले नै कमजोर छ । पूर्वप्रधानमन्त्री हसिनालाई शरण दिएपछि त झन बोलचाल नै बन्द छ ।
श्रीलंकाले गहिरो आर्थिक संकटमा भारतबाट महत्वपूर्ण सहयोग पाएपनि चीनको रणनीतिक उपस्थिति र विगतको हस्तक्षेपको छायाँबाट मुक्त हुन सकेको छैन । माल्दिभ्समा गुञ्जिएको ‘इण्डिया आउट’ को नारा भारतप्रतिको जनताको असन्तोषको सबैभन्दा कटु अभिव्यक्ति हो । यहाँसम्म कि, भारतको सबैभन्दा निकट र भरपर्दो मित्र मानिने भूटानले समेत आफ्नो सार्वभौम हितका लागि चीनसँग सीमा वार्ता अघि बढाउँदा नयाँ दिल्ली लामो समयदेखि चिन्तामा छ । पाकिस्तानसँगको सम्बन्ध सुधारको त कुनै सम्भावना नै देखिँदैन । पहलगाउ घटना पछिको अवस्था यहाँ विश्लेषण गर्न परेन । यस्ता धेरै उदाहरण र प्रमाण छन् जसले भारतको पींध मानिने छिमेक सम्बन्धमा संवादहिनता छ ।
सबै घटनाक्रमहरूले भारतको ‘छिमेकमैत्री’ छविलाई मात्र होइन, उसको वैश्विक नेतृत्वको दाबी नै कमजोर छ । जब आफ्नै क्षेत्रका साना र तुलनात्मक रूपमा कमजोर मुलुकहरूले भारतप्रति गहिरो सन्देह राख्छन्, तब टाढाका देशहरूले उसको नेतृत्वको दाबीलाई स्वाभाविक रूपमा शंकाको दृष्टिले हेर्न थाल्छन् ।
‘छिमेकी मित्र’ पहिला बन्नु
भारतले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो आर्थिक, सैन्य र प्राविधिक शक्ति प्रदर्शन गर्न सक्ला तर नेतृत्व शक्तिले होइन, विश्वासले आर्जन गरिन्छ । त्यो विश्वासको जग आफ्नै छिमेकीहरूको भरोसा जितेर मात्र निर्माण हुनसक्छ । यसका लागि भारतले छिमेक सम्बन्धमा चार आधारभुत मूल्यहरूलाई व्यवहारमा उतार्नुपर्छः सम्मान, समता, संवाद र सहकार्य ।
सम्मान भन्नाले छिमेकी राष्ट्रको सार्वभौमिकता, उसको निर्णय लिने स्वतन्त्रता र राष्ट्रिय संवेदनशीलताको निशर्त आदर गर्नु हो । नाकाबन्दी जस्ता एकपक्षीय दबाब, सीमा विवादमा देखाइने हठ वा घरेलु राजनीतिमाथिको सुक्ष्म व्यवस्थापन असम्मानका प्रतिक हुन्, जसले सम्बन्धमा स्थायी दरार पैदा गर्छ । समता को अर्थ हो, हरेक देशलाई उसको आकार वा शक्ति जस्तोसुकै भएपनि बराबरीको हैसियतमा व्यवहार गर्नु ।
भारतले आफूलाई ‘ठूलो दाइ’ को भुमिकामा देख्ने परम्परागत सोच त्यागेर एक समान साझेदारको रूपमा प्रश्तुत हुनुपर्छ । संवाद भनेको संवादहीनताको अन्त्य गर्दै नियमित, इमान्दार र सबै तहमा खुला छलफलको संस्कृति निर्माण गर्नु हो । सम्बन्ध सुधारको पहिलो र अन्तिम माध्यम नै यही हो । र सहकार्य को अर्थ हो, साझा हितका परियोजनाहरूमा पारदर्शी ढंगले सह–स्वामित्वको भावनाका साथ काम गर्नु ।
यी मूल्यहरूको अभावमा भारतको व्यवहार र वाचाबीचको खाडल स्पष्ट देखिन्छ । यही खाडलले चीनलाई छिमेकीहरूमाझ एक सहज र आकर्षक विकल्पको रूपमा स्थापित हुन मद्दत पु¥याउँछ । भारतको ढिलो कार्यान्वयन शैली, राजनीतिक अस्थिरता र अनिश्चित सहयोग नीतिले गर्दा साना मुलुकहरू स्वाभाविक रूपमा चीनतर्फ आकर्षित हुन्छन् ।
ग्लोवल साउथको नेतृत्वमा छिमेकको भुमिका किन निर्णायक छ ?
भारतले ग्लोबल साउथको नेतृत्व गर्ने महत्त्वाकांक्षा राखेको विषय अब नयाँ रहेन। कतिपय कोणबाट हेर्दा यो स्वाभाविक पनि हो । नेपालको भूमिबाट हेर्दा त ठूलो अवसर पनि हो । भारतले ग्लोवल साउथको नेतृत्व गर्ने विषयमा नेपालले पनि धेरै फाइदा देख्छ । त्यो भनेको कुलो मुनिको खेतमा पानी लगाउनु नपर्ने जस्तै हो । तर भारतले छिमेकको महत्त्वलाई तीन वटा निर्णायक कोणबाट बुझ्नुपर्छ ।
पहिलो हो विश्वसनीयता । अन्तर्राष्ट्रिय सम्बन्धको आधारशिला नै भरोसा हो। छिमेकीहरूले नै विश्वास नगरेको देशलाई विश्वका अन्य मुलुकले कसरी पत्याउने ?
दोस्रो, स्रोतको व्यवस्थापन। छिमेकीहरूसँगको अस्थिर सम्बन्धले भारतको अधिकांश समय, ऊर्जा र कुटनीतिक क्षमतालाई क्षेत्रीय तनाव समाधान गर्नमै खर्च गराउँछ, जसले उसलाई विश्वमञ्चमा पूर्ण क्षमताका साथ प्रश्तुत हुनबाट रोक्छ रोकी रहेको पनि देखिन्छ ।
तेस्रो र सबैभन्दा महत्त्वपूर्ण पक्ष हो, चीनको प्रभाव । दक्षिण एसिया चीनका लागि रणनीतिक प्रभाव विस्तार गर्ने प्रमुख क्षेत्र बनेको छ। चीनले यहाँ सडक, ऊर्जा, बन्दरगाह र रेलमार्गमा गरेको विशाल लगानीले उसलाई एक शक्तिशाली प्रतिष्पर्धीको रूपमा उभ्याएको छ ।
यदि भारतले आफ्नै आँगनमा चीनभन्दा भरपर्दो र आकर्षक विकल्प दिन सक्दैन भने, दक्षिण एशिया वा अफ्रिका वा ल्याटिन अमेरिकामा चीनसँग प्रतिस्पर्धा गर्ने उसको दाबी एक रणनीतिक भ्रम मात्र सावित हुनेछ ।
छिमेक सम्बन्ध सुधारको पहिलो पाइला ‘नेपाल’
छिमेक सम्बन्ध सुधारको पहिलो र सबैभन्दा प्रभावकारी पहल कहाँबाट शुरु गर्ने भन्ने प्रश्नमा, भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणको निम्तो दिनु एक अत्यन्तै सुझबुझपूर्ण र रणनीतिक कदम हुनसक्छ । यो केवल एक कुटनीतिक औपचारिकता मात्र होइन, बरु यसले सम्मान र महत्वको गहिरो प्रतिकात्मक सन्देश प्रवाह गर्छ ।
प्रायः ’ठूलो दाई’ को व्यवहारको आरोप खेपिरहेको भारतले आफैँ अग्रसर भएर नेपाल जस्तो ऐतिहासिक र सांस्कृतिक रूपमा निकटतम छिमेकीलाई उच्चस्तरीय भ्रमणको निम्तो दिँदा, यसले विगतका तिक्तताहरूलाई पन्छाएर सम्बन्धमा नयाँ अध्याय सुरु गर्ने भारतको तत्परतालाई दर्शाउँछ। यस्तो द्विपक्षीय भ्रमणले दुई देशबीचका विशिष्ट र जटिल मुद्दाहरू, जस्तै सीमा विवाद, ईपीजी प्रतिवेदन, व्यापार सन्धि र ऊर्जा सहकार्यमा केन्द्रित र परिणाममुखी छलफल गर्ने वातावरण बनाउँछ । यो कदमले भारतको ’छिमेक पहिलो’ नीति नारामा मात्र सीमित नभई व्यवहारमा पनि लागू हुन्छ भन्ने बलियो प्रमाण प्रश्तुत गर्छ, जसले अन्य छिमेकीहरूमा पनि सकारात्मक सन्देश प्रवाह गर्दछ ।
यसको अर्को पक्ष नेपालमा बढ्दो चिनियाँ प्रभावलाई (चिनिया प्रभाव छ भन्ने गरिन्छ) लिएर चिन्तित भारतका लागि यो एक प्रभावकारी कुटनीतिक कदम हो । नेपाललाई विश्वासमा लिएर सहकार्य बढाउनु भनेको चीनलाई यो सन्देश दिनु हो कि भारत आफ्नो परम्परागत प्रभाव क्षेत्रलाई बेवास्ता गर्दैन र एक भरपर्दो विकल्प दिन सक्षम छ ।
नेपालसँगको सफल द्विपक्षीय संवादपछि, छिमेक सम्बन्धलाई थप सुदृढ बनाउन अर्को रचनात्मक कदम चाल्न सकिन्छ । भारतले दक्षिण एशियाका सबै देशका नेताहरूलाई एउटा अनौपचारिक बैठक, जस्तै ’डिनर मिटिङ’ का लागि आमन्त्रण गर्नसक्छ । सार्क जस्ता औपचारिक मञ्चहरू प्रक्रियागत जटिलता र राजनीतिक अडानका कारण निष्क्रियप्रायः रहँदा, यस्तो अनौपचारिक जमघटले नेताहरूलाई व्यक्तिगत सम्बन्ध विकास गर्ने र कुनै एजेण्डाको दबाबबिना खुला हृदयले कुराकानी गर्ने दुर्लभ अवसर प्रदान गर्छ।
व्यक्तिगत विश्वासले नै जटिल राजनीतिक समस्याहरू समाधान गर्ने ढोका खोल्न सक्छ। यस्तो बैठकले क्ब्ब्च्ऋ को गतिरोधलाई बाइपास गर्दै क्षेत्रीय सहकार्यको भावनालाई जीवित राख्न मद्दत गर्छ र ’दक्षिण एशियाली परिवार’ को साझा दृष्टिकोण निर्माण गर्न आधार तयार पार्छ। यद्यपि यसमा भारत–पाकिस्तान तनाव जस्ता चुनौतीहरू छन्, तर एक इमानदार प्रयासले क्षेत्रीय विश्वासको वातावरण पुनर्निर्माण गर्नसक्छ ।
यी दुई कदमहरूले भारतको नेतृत्व क्षमतालाई नयाँ ढंगले परिभाषित गर्न सक्छन् । नेतृत्व भनेको ठूला घोषणाहरू गर्नु मात्र होइन, बरु धैर्य, सम्मान र इमानदारीका साथ स–साना तर अर्थपूर्ण पहलहरू गर्नु पनि हो । नेपालसँगको द्विपक्षीय भ्रमणबाट शुरु गरेर क्षेत्रीय अनौपचारिक संवादसम्मको यो यात्राले भारतलाई पहिले एक असल ‘छिमेकी मित्र’ को रूपमा स्थापित गर्नेछ । र यही विश्वासको जगमा उभिएर मात्र उसले आफूलाई ‘विश्वमित्र’ को रूपमा प्रश्तुत गर्ने आफ्नो वैश्विक दाबीलाई सार्थक र विश्वसनीय बनाउन सक्छ ।
नेतृत्वको बाटो कहाँबाट शुरु हुन्छ ?
भारतको वैश्विक नेतृत्वको आकांक्षा जायज, समावेशी र सामयिक छ । विश्वका विकासोन्मुख राष्ट्रहरू भारतमा एक सम्भावित साझेदार देख्छन् । तर साझेदारीको जग घोषणाले होइन, व्यवहारले निर्माण हुन्छ । भारतले आफूलाई ‘विश्वमित्र’ को रूपमा चिनाउनुअघि, साँचो अर्थमा एक ‘छिमेकी मित्र’ बन्नु अपरिहार्य छ । विश्वास वाचाले होइन, व्यवहारले जितिन्छ र त्यो व्यवहारको शुरुवात सबैभन्दा नजिकका मुलुकहरूसँग हुन्छ ।
अन्तत:, भारतको ग्लोबल साउथ नेतृत्वको यात्राको बाटो न त जेनेभाबाट शुरु हुन्छ, न त वासिङ्टनबाट; त्यो बाटो शुरु हुन्छ काठमाडौं, ढाका, थिम्पु र मालेबाट । घर सुधारेपछि मात्र चौतारीमा सम्मानजनक स्थान मिल्छ। यदि भारतले यो सरल तर गहिरो सत्यलाई आफ्नो कूटनीतिक दर्शनको केन्द्रमा राख्न सक्यो भने, उसले ग्लोबल साउथको नेतृत्व मात्र होइन, विश्वमा एक शान्तिपूर्ण, सम्मानित र दिगो शक्तिको रूपमा आफ्नो स्थान सुनिश्चित गर्नसक्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij