२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

रूपन्देही–३ उपनिर्वाचन : निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु

सोमवार , आषाढ ३०, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ३० असार । निर्वाचन आयोगले २०८२ कार्तिक १७ गते रूपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक प्रक्रिया सुरु गरेको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै नामावली अद्यावधिकका लागि आवश्यक मिति र कार्यतालिका सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार मतदाता नामावली अद्यावधिकका लागि कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी असार १६ गतेसम्म देशभरबाट संकलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिनेछ ।

    अद्यावधिक कार्यक्रम अन्तर्गत संकलित मतदाताको विवरण आगामी साउन १४ गते आयोगको वेबसाईटमा प्रकाशन गरिने आयोगका सह–सचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्यसपछिका ७ दिन अर्थात साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेका त्रुटी सच्याउन निवेदन दिने, कसैले झुटा विवरण दिइ नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ । साउन १५ देखि २२ गतेसम्म त्रुटी सच्याउन निवेदन दिने लगायत तोकिएका कार्यहरुमा अनलाइन प्रणालीबाट समेत निवेदन, सूचना, उजुरी दिन सकिनेछ ।

    मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी भदौ २५ गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । मतदाता नामावलीलाई त्रुटीरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागीता अपरिहार्य रहेको आयोगको भनाइ छ ।