२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

आफूसहित यात्रुको जीवन र कमाएको पैसा बचाउने उपायबारे प्रशिक्षण

शुक्रवार , आषाढ २७, २०८२

बुटवल, २७ असार । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. अन्तर्गत कार्यरत कर्मचारी तथा मजदूरहरुलाई आफूसहित यात्रुको जीवन र कमाएको पैसा दुवै बचाउने उपायबारे प्रशिक्षण प्रदान गरेको छ । विगतमा आफू मातहतका यातायात मजदूरहरुलाई दुर्घटना न्यूनीकरण र सवारीसाधान व्यवस्थापनबारे प्रशिक्षण दिदै आएको प्रा.लि.ले यसवर्ष ‘आफू दुःख पर्दाको साथी’ बन्ने योजनाका साथ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  

दैनिक हजारौं यात्रुलाई गन्तव्यमा पुर्याउने सवारीचालक र सह–चालकहरुको आफ्नो जिन्दगी प्रायः अनिश्चितताको मोडमा हुने भएकोले दुर्घटना पश्चात सामाजिक र पारिवारिक सुरक्षाको प्रत्याभुति दिलाउन रु. २२ लाखसम्मको आर्थिक सुरक्षा योजना लागू गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लिले जनाएको छ । प्रा.लि.का अनुसार हरेक यातायात मजदूर, कर्मचारी र व्यवसायीले महिनाको १ हजार मात्र बचत गरेर रु. १५ लाखदेखि २२ लाखसम्म बिमा, क्षतिपूर्ति र राहत प्याकेज उपलब्ध गराउने योजना कार्यान्वयन गरिएको छ । 

कार्यक्रममा प्रमुख प्रशिक्षक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले प्रहरी, यातायात मजदूर र यात्रु सबै अनुशासित भएमा सवारी दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । एसपी शर्माले सरकार अनुशासित भए प्रहरी अनुशासित हुने, प्रहरी अनुशासित भए सडक यातायात अनुशासित हुने र यातायात मजदुर र यात्रु अनुशासित भए दुर्घटना न्यूनीकरण हुने बताउनुभयो । 

तालिमले ट्राफिक नियम र सावधानी मात्र होइन, आत्मविश्वास र आत्मसम्मान समेत बढाउने कुरामा जोड दिँदै उहाँले भन्नुभयोे–‘अनुशासन र सजगता नै दुर्घटना न्यूनीकरणको पहिलो आधार हो ।’ 

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले आफू मातहतका यातायात श्रमिकहरुको व्यक्तिगत र पारिवारिक जीवनमा आर्थिक सुरक्षा र सामाजिक मर्यादा थप्ने अभियान सुरु गरेको बताउनुभयो । उहाँले यातायात क्षेत्रमा बढ्दो दुर्घटना र त्यसले निम्त्याउने क्षतिलाई न्यूनीकरण गर्न प्रा.लि.ले लामो समयदेखि सवारीचालक तालिम प्रदान गर्दै आएको उल्लेख गर्नुभयो । अध्यक्ष खरेलले अब दुर्घटना न्यूनीकरणका सवालमा मात्र नभइ मजदूर तथा कर्मचारीहरुको आर्थिक सामाजिक सवालमा पनि प्रा.लि.ले उल्लेख्य प्याकेज कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आफूसहित यात्रुको जीवन बचाउन र पैसा बचाउन सँगसँगै सिकाउँदैछौं ।”

प्रा.लि. अन्तर्गत लामो दूरी तथा रात्री सेवाका यात्रुबाहक बसहरु चलाउने करिब २ सय चालक र सह–चालक सहभागी भएको सो कार्यक्रममा प्रशिक्षक एवं ट्राफिक प्रहरीका वरिष्ठ सहायक निरीक्षक ज्ञानु पाण्डेले चालक र सह–चालकहरुलाई आफ्नो पेशा र जिम्मेवारीप्रति गम्भिर भएर लाग्न आग्रह गर्नुभयो । 

प्रा.लि.का सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका संयोजक नारायण घिमिरेले पटकपटकको तालिमले यातायात मजदूर तथा कर्मचारीहरुको व्यवहारमा सुधार आएको उल्लेख गर्दै सडक अनुशासन पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सह–संयोजक नारायण भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशका अध्यक्ष हुमबहादुर क्षेत्री लगायतले यातायात क्षेत्रमा मर्यादा, सुरक्षा र सामाजिक जिम्मेवारीसहित तालिम र सहकारी संयोजन गरेर नयाँ दिशा देखाएको बताउनुभयो । साथै सवारी दुर्घटनाका कारण र समाधानबारे चर्चा गर्दै तालिमले मानव सभ्यता सवारी अनुशासनबाट सुरु हुन्छ भन्ने सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो।