
शुक्रवार , चैत्र २०, २०७७
भैरहवा, २० चैत ।
श्री पक्लिहवा माध्यमिक विद्यालयको ६२ औं स्थापना दिवस समारोह सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवामा एक कार्यक्रमकाबीच शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको सभापतित्व तथा शिक्षाप्रेमी तथा पूर्व प्रधानाध्यापक दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश मल्ल, पक्लिहवा कृषि क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक डा.रामभजन मण्डल, वडा नम्बर १ का वडा सदस्य हरिमाया गुरुङ्ग, मेउडिहवा आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र कोहार, पूर्व शिक्षक कृष्ण बहादुर गुरुङ्ग लगायतले विद्यालयको विगतको इतिहास, समाज रुपान्तरणमा यसले गरेको योगदान, शिक्षा क्षेत्रको विकासमा नयाँ कार्ययोजना, भुमिका तथा असल नागरिकको निर्माणमा विद्यालयले पारेको प्रभावको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत छात्रा–छात्राहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए। सोही अवसरमा विद्यालयले वर्ष २०७८ को लागि प्रकाशन गरेको भित्तेपात्रोको पनि विमोचन गरेको थियो ।
विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवी न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij