२०८३, कार्तिक ८ गते

Oct 25 2026 | २०८३, कार्तिक ८ गते

‘मैले टेकेका पाइलाहरु’मा हिड्दा..................।

शुक्रवार , कार्तिक ६, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • ‘मैले टेकेका पाइलाहरु’ देवेन्द्र घिमिरेको संस्मरणात्मक ग्रन्थ हो । जीवनका महत्वपूर्ण क्षण नेपालको वामपन्थी आन्दोलनमा व्यतित गरिसकेका उनले यतिबेला आरामको जिन्दगी बिताइरहेका छन् । राष्ट्रिय सभाका सदस्य भइसकेका देवेन्द्र घिमिरे लेख्न, पढ्न र फोटो खिच्न विपत्तै रुचाउँथे भन्ने कुरा संस्मरणहरु पढेपछि हेक्का हुन्छ ।

    नेपाली महिला र मुक्ति (२०३८), सर्वहारा वर्गका असल मित्रहरुलाई चिनौं (२०४२), हामी र हाम्रा आफन्तीहरु (२०४८), थारु ः आदिवासी नेपाली (२०५२), भूमिगत यात्राका २० वर्ष (२०५९), हजुर नमस्कार (२०६४), युगदेखि युगसम्म (२०६६), जिउनुको सार (२०७२), यात्राका यादहरु (२०७५) र आश्रितका चिठी देवेन्द्र घिमिरेलाई (२०८०) प्रकाशित भइसकेका देवेन्द्रका कृतिहरु हुन् । देवेन्द्र घिमिरे (नास्तिक) नामबाट परिचित उनी, पछिल्लो समय कपिलबन्धु साहित्यिक नामबाट प्रसिद्ध छन् ।

    हाम्रा पुर्खा, म र आजको पुस्ता, मेरो बाल्यकाल शीर्षकलाई पुस्तकको परिचय खण्डमा समावेश गरेका छन् । संस्मरण खण्डमा मेरो कालखण्डको बुटवल, बुटवलको साहित्य, अलप भएकै ठाउँबाट प्रकट, आन्तरिक र बाह्य द्वन्द्वमा बुटवल, बिटालु अर्जेल, पुनर्मिलनको नयाँ आयाम, भूमिगतकालीन अवस्था ः अनुभव र अुनभूति, २०२६ को त्यो अविस्मरणीय जुलुस, २०७४ का बाह्र महिना शीर्षकका ९ वटा संस्मरणात्मक लेखहरु समावेश छन् । 
    नियात्रा खण्डमा कलेजबाट शैक्षिक भ्रमणमा, महाकाली प्रशिक्षणमा बाइस दिन, दाङ्ग भ्रमणका पाँच दिन, विद्यार्थीसँगै तातोपानी पूलपारिसम्म, औषधी बोकेर विदेश यात्रामा शीर्षकका घतलाग्दा, रमाइला र स्मरणयोग्य नियात्रा पढ्दा समय बितेको थाहै हुन्न । सलल बगेका उक्त नियात्राले आफ्नो समाज, देश र विदेशलाई समेत दाँजेको छ । आफूनो भूमिप्रतिको स्नेहभाव झल्काएको छ ।

    विद्यार्थीकालमा देवेन्द्रहरुले २०२५ सालको पुस ८ गदेदेखि आफ्नो लुम्बिनी कलेजबाट नेपाल र भारतको २२ दिने शैक्षिक भ्रमण गरेका रहेछन् । उक्त भ्रमणका बारेमा नियात्रा उनले २०२६ सालमै लेखेका पनि रहेछन् । उनले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापादेखि भारतको दार्जिलिङ्गमा पुगेर सगरमाथा आरोही प्रथम व्यक्ति तेञ्जिङ्ग नोर्गे, शेर्पालाई भेटेको कुरा उल्लेख गरेका छन् । जाँदा भारतको गोरखपुरदेखि रेलमा र आउँदा काठमाडौंबाट डकोेटा विमानद्वारा भैरहवा उत्रिएको कुरा मज्जाले बयान गरेका छन् ।

    मितेरीका ती दिनहरु, प्रतिगामी साहित्य र त्यसको सेवा क्षेत्र, महिला हिंसाको क्षेत्र, कारण र निवारण, नेपाल दलित, गैरदलित नागरिकको देश बन्नु भएन, नैतिक शिक्षा ः नीति र नैतिकता, संस्कृति युगका पाइला हुन्, मानवजीवन नदी प्रणालीसँग अनुबन्धित छ, ज्येष्ठ नागरिकको मानवअधिकार सम्वेदनशीलता, विद्यार्थी कसलाई भन्ने ?, आजको नेपाली जनमत, राजनीति कसका लागि ?, मेरा भूत र मसान जीवन दर्शनका सहयोगी बने, शाश्वत सत्य छ गतिमयता, समाज रुपान्तरणमा वैचारिक पक्षको भूमिका, कसका लागि राजतन्त्र फर्काउने ? र राताआँखे जनवाद ! जस्ता १६ वटा लेखहरु विचार खण्डमा समाहित छन् ।

    समाजको विकास, गति, प्रगति, उन्नति र समृद्धिको आधार नै विचार हो । विचारबिनाको नीति, योजना, कार्यक्रम सम्भव हुँदैन । विचारले नै विकासका आधारहरु तय गरेका हुन्छन् । समृद्ध समाज र राष्ट्र निर्माणका लागि विचार नै समृद्ध हुनुपर्छ । विचारमाथि मन्थन हुनु स्वभाविक हो । तर, विचारको गोरेटोलाई पछ्याएर नै गन्तव्य पुग्ने हो । विचार खण्डमा लेखकले आफ्ना सकारात्मक दृष्टिकोणहरुलाई प्रस्तुत गरेका छन् । विचारमा अटल उनी, विचारलाई नै सर्वश्रेष्ठ ठान्दछन् र मान्दछन् । उनले भनेका छन्–शासकहरु समुदायसँगभन्दा उनीहरुले लिएको विचारसँग तर्सन्छन् ।

    डा.हरिप्रसाद भण्डारीद्वारा सम्पादित उक्त पुस्तकको प्रकाशन २०८३ सालमा भुँडीपुराण प्रकाशनले गरेको हो । पुस्तकमा परिशिष्ट खण्डमा केन्द्रको नामावली, रुपन्देहीका आश्रयदाताहरु, गुल्मीका आश्रयदाताहरु, पाल्पाका आश्रयदाताहरु, दाङ्गका आश्रयदाताहरु, नवलपरासीका आश्रयदाताहरु र टिप्पणीकर्ता, सहलेखक, संस्था र सञ्चारमाध्यमका बारेमा लेखिएका लेखहरु समावेश छन् । अन्तिम खण्ड सन्दर्भिकामा मेरो विगत अरुको कलमबाट शीर्षकमा लेखिएका ससाना संस्मरणहरु छापिएका छन् ।

    खरो स्वभावका कारण उनका कुरा र व्यवहार धेरैसँग नमिल्ने कुरा उनकै ग्रन्थहरु पढेपछि थाहा पाइन्छन् । देवेन्द्रलाई भूमिगतकालीन समयमा भेटेका उनकै साथीहरु पनि ‘कडा देवेन्द्र’ को संज्ञा दिन्छन् । देखेको बोल्ने र थिचोमिचो कसैको नसहने चरित्रका देवेन्द्रले राजनीतिमा टिक्नका लागि कसैको गुलाम गर्न नसकेकै कारण सांसद त भए जनतन । तर, मन्त्री बन्ने लालसा समयै त्यागें ।

    भन्नेहरुले जीवराज आश्रित र देवेन्द्र घिमिरेको अनुशासन उस्तै फलामे थियो भन्छन् । त्यो कुरा पनि यही पुस्तक पढेपछि थाहा लाग्छ । खासमा देवेन्द्र घिमिरेले सो कुरा पटकपटक आफू जीवराज आश्रित स्मृति प्रतिष्ठानको संस्थापक अध्यक्षका हैसियतले कार्यक्रमहरुमा बोल्ने गरेका पनि छन् । 
    ५० जना लेखक, साहित्यकार एवम् सर्जकहरुले देवेन्द्र घिमिरेका बारेमा कुनै न कुनै विषयमा केन्द्रीत भएर लेखेका छन् । सायद यो नै उनका लागि अमूल्य उपहार हुन सक्ला । ती सम्झनलायक लेखहरुलाई पनि यो पुस्तकमा सजाएका छन् । विभिन्न सञ्चारमाध्यमहरु, स्मारिका, मुखपत्रहरुमा समेत उनका बारेमा लेखिएका रचना, लेखहरु भेट्न सकिन्छन् ।

    राजनीतिबाट अवकास जीवन, देवेन्द्रले साहित्यमा नै सिंचित गरेका छन् । आफ्ना भावनाहरुलाई पुस्तक, पत्रपत्रिका र विविध माध्यमहरुमार्फत् प्रकट गरिरहेका छन् । पछिल्लो समय रोगव्याधिले गर्दा धेरै आराम र कम काम गरेका छन् । तैपनि उनले पछिल्लो कृतिका रुपमा मैले टेकेका पाइलाहरु हामीबीच ल्याइपुर्याएका छन् । प्रकाशन हुन बाँकी पाण्डुलिपिहरु छन् । समय र स्वास्थ्यले साथ दिएमा उनका विचारप्रधान र समाज प्रगतिउन्मुख रचनाहरु पढ्न पाउने अपेक्षा गर्न सकिन्छ ।