शनिवार , कार्तिक ७, २०८३
भैरहवा, ७ कार्तिक । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानवसेवा आश्रममा रहेका बालबालिकाहरूसँग दशैंको टीका लगाएर खुसी साटासाट गर्नुभएको छ ।
बडादशैं (विजया दशमी) को अवसरमा आश्रममा पुगेर उहाँले बालबालिकासँग टीका लगाउनुका साथै वृद्धवृद्धा (बुबाआमा) सँग भेटघाट गरी आशीर्वाद लिएको बताउनुभयो । सांसद पौड्यालले आश्रममा रहेका व्यक्तिहरूसँगै बसेर भोजनसमेत ग्रहण गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
आश्रममा बिताएको समयले माया, सद्भाव, आत्मीयता र मानवीय सेवाको वास्तविक अर्थ बुझाउने उहाँको भनाइ छ । आश्रममा रहेका व्यक्तिहरूको मुहारमा देखिएको खुसी र आत्मीयताले आफूलाई भावुक बनाएको पौड्यालले बताउनुभयो ।
असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवा र संरक्षणमा मानवसेवा आश्रमले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै उहाँले आश्रमप्रति सम्मान व्यक्त गर्नुभयो । ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने भावनालाई आत्मसात् गर्दै निःस्वार्थ सेवामा समर्पित आश्रमको सम्पूर्ण परिवारप्रति उहाँले धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो ।
सांसद पौड्यालले मानवसेवा आश्रमको मानवीय सेवाको यात्रामा निरन्तर सफलताको कामना गर्दै गर्नुभयो । उहाँले भन्नुभयो–‘सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij