२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

विद्यालय बन्द गर्ने सरकारी निर्णय, रुपन्देहीका संस्थागत विद्यालयद्वारा अवज्ञा

मंगलवार , चैत्र १७, २०७७

भैरहवा, १७ चैत ।
सरकारले अत्याधिक रुपमा प्रदुषण बढेको भन्दै चार दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णयको अवज्ञा गर्दै रुपन्देहीका संस्थागत विद्यालय खुलेका छन् ।

रुपन्देहीमा संस्थागत विद्यालयको प्रतिनिधित्व गर्ने प्याब्सन तथा एनप्याब्सन दुवैले सरकारको निर्णयको अटेरी गर्दै विद्यालय सञ्चालन गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था आज मंगलवारदेखि ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको थियो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्ला दिनमा बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै विद्यालय बन्दको निर्णय अटेरी गर्दा संघीय सरकारले गरेको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले वायू प्रदुषणका कारण संघीय सरकारले सम्पूर्ण शिक्षण संस्था बन्द गर्न भनेको तर परीक्षा सञ्चालन गर्न पाइने भएकोले रुपन्देहीका अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भइरहेको बताए ।

उनले नेपालको विशेष गरी पूर्वी जिल्लाका स्थानीय तहहरुले भने विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताए । ‘रुपन्देहीका स्थानीय तहहरुले विद्यालय सञ्चालनबारे आज के निर्णय गर्छन, त्यही अनुसार अगाडी बढ्छौं, पौडेलले भने।

एनप्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले आफुहरुले विद्यालय सञ्चालन गर्नेबारे कुनै निर्णय नगरिएको बताए । संगठनले विद्यालय बन्द गर्ने भनेर भनेका छैनौ, कसैले खोलेका छन् भने त्यो उहाँहरुको एकल निर्णयबाट खुलेका हुन् । मेरो विद्यालयको कुरा गर्नु हुन्छ भने मैले विद्यालय बन्द गरेर बसेको छु ।

सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष गम्भिर गुरुङले विद्यालयहरु सञ्चालन भइरहेको बताए । उनले विद्यालय सञ्चालनबारे स्थानीय तहबाट आधिकारिक सूचना नआएको जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै संघीय सरकारले विद्यालय बन्दको निर्णय गरेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय नगरेको बताए। विद्यालय सञ्चालन भइरहेका छन् नी भन्ने प्रश्नमा उनले खबरपात्रोसंग भने, संघीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो, हामीले फरक निर्णय गरेका छैनौं ।

नेपाल शिक्षक संघ नगर कार्यसमिति, सिद्धार्थनगरका अध्यक्ष अब्दुर्रहमान खानले मुलुकमा संघीयता आइसकेपछि संघीयता कार्यान्वयनको लागि विद्यालयसम्बन्धि अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए । उनले कोरोना महामारीको कारण लामो समयसम्म विद्यालय बन्द रहेको र अहिले कोर्स सकाउनुपर्ने र परीक्षा सम्पन्न गर्नुपर्ने भएकोले विद्यालय बन्द गर्ने निर्णय भने ठीक नभएको बताए । ‘जहाँ वायू प्रदुषणको प्रभाव छ, त्यहाँ विद्यालय बन्द गर्दा ठीकै छ तर सबै ठाउँमा विद्यालय बन्द गर्ने निर्णय ठीक होइन,’खानले भने । केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनको भनाइ छ ।

भानु माध्यमिक विद्यालय सिद्धार्थनगर–९, रुपन्देहीका प्राचार्य मोतीलाल सुवेदीले आज (मंगलबार) विद्यालय बन्द रहेको र भोलिदेखि पठनपाठन नभए पनि परीक्षा सञ्चालन हुने बताए।