
शनिवार , चैत्र १४, २०७७
बुटवल, १४ चैत ।
बुटवलमा सम्पन्न प्रथम जिल्लास्तरीय क्रिकेट प्रतियोगिता–२०७७ को उपाधि लुम्बिनी नव युवा क्लबले हात पारेको छ । बुटवल युथ स्पोर्ट्स क्लबको आयोजनामा शनिबार भएको फाइनलमा आयोजक बुटवल युथ स्पोर्ट्स क्लबलाई ८१ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।
उपाधिसंगै लुम्बिनीले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेता बुटवल युथ २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ ।
खेलमा लुम्बिनीका देवीनगर युथ क्लबका लोक बहादुर गुरुङ म्यान अफ द सिरिज, एभरेष्ट क्रिकेट क्लबका मन्जिल भुषाल उत्कृष्ट बलर, बुटवल युथका शंकर राना उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदै कपबाट पुरस्कृत गरिएको छ ।
एक समारोहकाबीच रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, वडा नम्बर १६ का वडाअध्यक्ष रामप्रसाद रेग्मी, वडा सदस्य गगन बहादुर गुरुङ, क्लबका अध्यक्ष राकेशनाथ अग्रहरी, खेल संयोजक राजु राना, सेमलार खानेपानीका अध्यक्ष बुद्धि प्रसाद ढकालले विजेता टिम, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।
कार्यक्रममा रुपन्देही जिल्ला क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट मैदान अभाव रहेको बेला स्थानीय सरकारबाट जग्गा उपलब्ध गराएर सराहनीय काम गरेको बताए । राष्ट्रिय टिममा नै रुपन्देहीका धेरै खेलाडी पर्दै आएको बेला मैदान पहिचान भएर पुर्वाधार विकासमा शुरुवात भएको उनले बताए । भैरहवामा अन्तर्राष्ट्रियका साथै देवदह, सैनामैनामा समेत मैदान बनाउने काम भइरहेको उनले बताए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १६ स्थित बुटवल नरेश्वर अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानमा भएको फाइनल खेलमा टस जितेर लुम्बिनीले ब्याटिङ गर्न मैदानमा उत्रेर १९ ओभर १ बलमा सबै विकेटको नोक्सानीमा १ सय ४६ रनको योगफल तयार गरेको थियो । लुम्बिनीका सुरज रानाले नटआउट १५ बलमा ३० रन, अफरादले १२ बलमा २२ रन जोडेका थिए । बुटवलका जितेन्द्र साहनीले ४.१ ओभर बलिङ गर्दै ५ विकेट लिएका थिए।
बुटवल युथ १४.६ ओभर केवल ८० रनमा समेटिएको थियो । अब्रहानले २५ बलमा ४१ रन जोडे पनि जित निकाल्न सकेन ।
लुम्बिनीको जीतमा बैतुल्लाले ३ र मनोहरले २ विकेट लिएका थिए । खेलमा लुम्बिनीका सुरज राना म्यान अफ दी म्याच घोषित भएका थिए । उपाधिका लागि जिल्लाका १९ क्लबहरुले भाग लिएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij