
शुक्रवार , चैत्र १३, २०७७
बुटवल, १३ चैत ।
लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययरत किशोरीहरुलाई आत्मरक्षा तालिम दिइने भएको छ । प्रदेशका १२ जिल्लाका विभिन्न सामुदायिक विद्यालयहरुबाट छनौट गरी ३ सय छात्राहरुलाई पहिलो चरणमा आत्मरक्षा तालिम दिइने भएको हो ।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा हुने ३ महिने तालिमको शुक्रबार एक समारोहकाबीच नवीन औद्योगिक कदर बहादुर रिता माविमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले शुभारम्भ गर्दै छात्राहरुमा आत्मबल बढाउने यस्ता कार्यक्रम महत्वपूर्ण भएको दावी गरिन । तालिममा मोटिभेसन, मेडिटेसनसंगै शारिरिक प्रशिक्षण दिइने उनले बताइन् । यो एउटा प्लेटफर्म समेत भएको भन्दै भविष्यमा प्रदेशमा संचालन हुने विभिन्न खेलकुद प्रतियोगितामा अवसर पाउने सम्भावना रहने उनले दावी गरिन् । प्रदेशको गुल्मी, नवलपरासी जिल्लामा समेत आत्मरक्षा तालिम सुरु भइसकेको उनले बताइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले तालिम प्रभावकारी बनाउन सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख दिवाकर भण्डारीले नवीन औद्योगिक, प्रगति मावि, तिलोत्तमा मावि र नहरपुर माविका २५ जना छात्राहरुलाई प्रशिक्षण दिइने बताए । तालिममा ४ वटा विद्यालयका सहभागि २५ जना छात्राहरुलाई पोशाक र खाजाको व्यवस्था गरी प्रशिक्षण दिइने बताए । भौतिक रुपमा नमुना, सुविधासम्पन्न नवीन मावि परिसरमा प्रशिक्षण दिइने उनले बताए ।
कार्यक्रममा विद्यालयका प्रशिक्षक नवराज खरेलले मार्सल आर्टमा आत्मरक्षालाई अनुशासित ढंगबाट देखाइने एउटा कला मानिने बताए । विद्यालयस्तरमा प्रशिक्षणको तालिम गराएर नयाँ ढंगबाट अघि बढाएर व्यापक गराउने काम भएको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव तारा ज्ञवाली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेल, प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, प्रगति मा.वि. सिल कुमारी अर्याल, तिलोत्तमा मा.वि.का ईश्वरी रेग्मी, नहरपुर माविका मेघराज भुसाल, डिभिजन कार्यालय अधिकृत श्याम न्यौपानेले छात्राहरुलाई सशक्तिकरण गर्ने अभियानमा सबैको साथ जरुरी हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij