
शुक्रवार , चैत्र १३, २०७७
बुटवल, १३ चैत ।
नेपाल ह्रदयरोग निवारण प्रतिष्ठान रुपन्देही शाखाले बुटवलमा एकदिने मुटु सम्बन्धि जनचेतना कार्यक्रम गरेको छ । ‘स्वस्थ मुटुको लागि दैनिक व्यायाम गरौं’ भन्ने नारासहित शुक्रबार देवीनगरस्थित नबिन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा समिर गौतमले मुटु स्वस्थ राख्ने उपायका बारेमा प्रकाश पार्दै खानपिन र व्यायाममा ध्यान दिनुपर्ने बताए । शहरी जीवनशैलीका मानिसहरुमा सुविधा खोज्ने होडबाजी बढ्दा पनि व्यायाम नहुने हँुदा यसले मुटु रोगको जोखिम बढाइरहेको उनले दावी गरे । ‘मुटु रोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ ।’– उनले भने ।
यसको जोखिम कम गर्ने सबभन्दा सहज उपाय भनेको आफ्नो दैनिकी परिवर्तन गर्नु भएको उनले बताए । मुटु स्वस्थ राख्न कम्तिमा पनि दैनिक ३० मिनेट लम्केर हिंड्नुपर्ने उनको सुझाव छ । मुटु जोगाउन खानपिनमा समेत ध्यान दिनुपर्ने उनले बताए । उच्च रक्तचाप, मधुमेह, शरीरको तौल, कोलस्ट्रोलको मात्रा कति छ भनेर वर्षमा कम्तिमा एकपटक स्वास्थ्य परीक्षण समेत गराउनु लाभदायक हुने उनले बताए । चिसोमा मुटुको धमनी खुम्चिने हुनाले रक्तचाप र रगत जम्न चाहिने प्रोटिन बढ्छ । धमनीमा ‘ब्लकेज’ भएकालाई छाती बढी दुख्न सक्छ । कहिलेकाँही धमनीभित्र जमेको बोसो फुटेर पनि रगत जम्न तथा रगतको प्रवाह रोक्दा हृदयघातको सम्भावना बढ्ने उनले बताए ।
युवा अवस्थामा हृदयघात हुने ८० प्रतिशत कारक चुरोट भएको भन्दै तनाव, चुरोट, सूर्ती र रक्सी मिश्रणले मुटुमा बोसो जमाउने र फुट्ने क्रम बढाउने उनले दावी गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निर्मल प्रसाद लाकौल, उपाध्यक्ष बोनिन पिया, सचिव नरेश कुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले युवा वर्गलाई सचेत बनाउन सके यसबाट समाजमा फाइदा मिल्ने भन्दै विद्यालयस्तरमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा विद्यालयका ४ सय विद्यार्थीहरु सहभागि रहेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij