२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

क्षयरोग तथा एचआईभी सम्बन्धि सचेतनामुलक कार्यक्रम 

बुधवार , चैत्र ११, २०७७

भैरहवा, ११ चैत ।
विश्व क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा रुपन्देहीले क्षयरोग तथा एचआईभी रोगका विषयमा सचेतनामुलक कार्यक्रम गरेको छ । 

संस्थाले बुधबार भैरहवास्थित रेयुकाईको सभाहलमा आयोजना गरेको कार्यक्रममा क्षयरोग र एचआईभी रोगका लक्षण, उपचार विधि र त्यसबाट जोगिने विषयमा जानकारी दिइएको थियो ।

सो अवसरमा बोल्दै चिकित्सक तथा क्षयरोग निवारण संस्थाका पदाधिकारीहरुले रोग लागेर उपचार गरी निको हुन्छ भन्ने सोच राख्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणा, भीम अस्पताल भैरहवाका मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ता, संस्थाका जिल्ला अध्यक्ष महेशचन्द थापा, कार्यक्रम संयोजक भोजराज बस्याल, सञ्चालक अर्जुन पौडेल लगायतले बोल्दै बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजी क्षेत्रबाट प्रदान भएका सेवाको तथ्यांक मूलधारमा ल्याउन नसक्नु, बसाईसराई, खुल्ला सिमाना लगायतले क्षयरोगमा चुनौती देखिएको बताए । 

कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ट निरीक्षक टिकाराम अधिकारीले सहभागप्लाई प्रशिक्षण दिएका थिए । सो अवसरमा उनले सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्युदर घटाई रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य सरकारले अघि बढाएको बताए । 

सो अवसरमा भीम अस्पतालकी मेसु डा. गुप्तालाई संस्थाको सल्लाहकारमा मनोनयन गरिएको पत्र हस्तान्तरण समेत गरिएको थियो ।