
मंगलवार , चैत्र १०, २०७७
बुटवल, १० चैत ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वयमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय÷कुष्ठ निरीक्षक टिकाराम अधिकारीले क्षयरोग अन्त्यका लागि चुनौतिहरु देखिएको बताए । बहुऔषधी प्रतिरोधको असर, क्षयरोग एचआईभी सह संक्रमण, मधुमेहका बिरामीहरुमा क्षयरोगको जोखिम, निजी क्षेत्रबाट प्रदान भएका सेवाको तथ्याक मुलधारमा ल्याउन नसक्नु, बसाईसराई, खुल्ला सिमाना क्षयरोगमा चुनौती देखिएको उनले बताए । सन २०५० सम्म क्षयरोग अन्त्य गर्ने परिकल्पना अनुसार विरामी र मृत्यु दर घटाई रोग सर्ने प्रक्रियालाई रोक्ने लक्ष्य सरकारले अघि बढाएको छ ।
नेपालमा सन १९९६ भक्तपुर, पर्सा, नवलपरासी र कैलाली जिल्लामा पाईलट कार्यक्रमका डट्स विधि सुरु भएकोमा अहिले सबै जिल्लामा लागू भएको छ । डट्स भन्दा पहिला उपचारमा रहेका बिरामीहरुमध्ये करीब ३३ प्रतिशत मात्र निको हुने दर थियो भने अहिले ९० प्रतिशत भन्दा माथि रहेको छ । एक सय जना क्षयरोगीमध्ये ८० जनालाई फोक्सोमा देखिने उनले बताए । यस्ता रोगीलाई खोकीको समस्या हुने गर्दछ । हालै सम्पन्न प्रिभ्यालेन्स सर्भेक्षण अनुसार नेपालमा वार्षिक ६९ हजार जना क्षयरोगका नयाँ विरामी देखिन्छन तर राष्ट्रिय क्षयरोग कार्यक्रम अन्र्तगत विगत ५ वर्ष यता वार्षिक करिब ३२ हजार नयाँ क्षयरोगका विरामी निदान भई उपचारको दायरामा ल्याउन सकिएको छ । ने
पालमा १ लाख १७ हजार क्षयरोगीहरु रहेको र क्षयरोगको राष्ट्रिय प्रिभ्यालेन्स ४ सय १६ प्रति १ लाख जनसंख्या रहेको छ । नेपालमा प्रत्येक वर्ष करीब ६९ हजार क्षयरोगको नयाँ विरामी देखिने उनले बताए । क्षयरोगको नयाँ विरामी हुने दर २ सय ४५ प्रति १ लाख जनसंख्या रहेको छ । नेपालका कुल जनसंख्याको झण्डै आधा व्यक्तिमा क्षयरोगको संक्रमण रहेको अनुमान छ । टिवीको जीवाणु हाम्रो शरीरमा हुन्छ कमजोर हँदा रोग देखिन्छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र कुमार गिरीले डिआर टिवी उपचार धेरै कठिनाइ हुने गरेको बताए । सरकारको पहिलो प्राथमिकतामा यसको उपचार निःशुल्क गराएको भएपनि सचेतना अभावले समस्या देखिने उनले बताए । रुपन्देही जिल्लामा ९२ वटा स्वास्थ्य केन्द्रबाट आषधी उपचार उपलब्ध रहेको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र प्रसाद खनाल, वरिष्ठ फिजिसियन नन्दु पाठक, लुम्बिनी प्रादेशिक अस्पताल डट्स क्लिनिकका इञ्चार्ज सत्यराज शाक्यले समाजमा विस्तारै क्षयरोगी खुल्न थालेको बताए ।
लुम्बिनी प्रदेशमा ५ हजार ६ सय ६२ जना तथा प्रदेशभित्र रुपन्देहीमा सबैभन्दा धेरै १ हजार १ सय ६३ जना बिरामी छन् । बुटवल उपमहानगरपालिकामा डिआर टिभी सेवा सञ्चालन गर्दा सुरुवातमा धेरै कठिनाई आएको स्वास्थ्य स्वयंसेवी पुष्पा न्यौपाने शर्माले बताए । बिरामीहरु फलोअपमा नआउने, छिमेकिहरुबाट सेवाकेन्द्र सार्न दबाब आएको बताईन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij