
सोमवार , चैत्र ९, २०७७
बुटवल, ९ चैत ।
विश्व पानी दिवसको अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजना तथा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देही नेपाल, सोह्रछत्तिस संयुक्त सिचाई प्रणालीको संयोजनमा सोमबार रुपन्देहीमा पानीको महत्व÷खानेपानीमा प्रदेशको अवस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पुर्खाहरुको परम्परागत पानीको उपभोग गर्ने विधि पद्धतिलाई आधुनिक प्रविधिसंग जोडेर अघि बढ्न सके भावी पुस्तालाई फाइदा मिल्ने दावी गरेका छन् ।
कार्यक्रमको एक समारोहकाबीच लुम्बिनी प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदीले उद्घाटन गर्दै पानीको मुहार संरक्षण गर्ने, परम्परागत ज्ञान र सीपहरु अझै पनि धेरै उपयोगी भएको दावी गरे । जल उपयोगमा पुर्खाहरुबाट धेरै बुद्धिमता अपनाएको उदाहरण सोह्रछत्तिस सिंचाईको उदाहरणबाट प्रष्ट भएको उनले बताए ।
कार्यक्रममा संघीय सरकार खानेपानी आयोजनाका प्रमुख शालिकराम पौडेल, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी, युनिसेफ नेपालका अफिसर राकेश मल्लिक, प्रिति शर्मा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देही नेपालका ध्रुव धिताल, सोह्रछत्तिस संयुक्त सिचाईका अध्यक्ष यज्ञ गैरेले पुर्खाले अपनाएका पानीको उपयोगको परम्परागत ज्ञान, सीपलाई आधुनिक प्रविधिसंग जोड्न सके भावी सन्ततिलाई फाइदा मिल्ने बताए ।
भौतिक पुर्वाधार मन्त्रालयका खानेपानी तथा सरसफाई महाशाखाका प्रमुख धुव्र धितालले लुम्बिनी प्रदेश सरकारले एक घर एक धारा संकल्प प्रस्ताव पारित गरेअनुसार कार्यान्वयनमा लागेको बताए । आर्थिक वर्ष २०७५÷०७६ सम्म प्रदेशका ८९.८३ प्रतिशत घरपरिवारमा खानेपानी सुविधा पुगेको, ८१.०३ प्रतिशत मा विद्युत सेवा पुगेको, ५१ प्रतिशत सिचित क्षेत्र, ११ हजार २ सय ३३ किलोमिटर सडक रहेको उनले बताए । आर्थिक वर्ष २०८०÷०८१ सम्म घरपरिवारमा खानेपानी सुविधा, विद्युत सेवालाई शतप्रतिशत पुर्याउने लक्ष्य रहेको तथा सिचित क्षेत्र ७० प्रतिशत र सडक लम्बाइ १२ हजार ५ सय पुर्याउने लक्ष्य रहेको उनले बताए ।
संसारमा प्रत्येक ३ मध्ये १ जना मानिस अर्थात २.२ अर्ब जनसंख्या सफा पानीको पहुँच बाहिर रहेको बताए । संसारको आधा जनसंख्या ४.२ अर्ब जनसंख्या उचित सरसफाईको अभावमा बाँच्न बाध्य रहेको छ । दुषित पानी, कमजोर स्वास्थ्य र सरसफाईका कारण दैनिक ८ सय, वार्षिक २ लाख ९७ हजार जना ५ वर्ष उमेर मुनीका बालबालिकाहरु झाडापखालाजन्य रोगबाट मर्ने विश्व स्वस्थ्य संगठनको तथ्यांकले देखाएको उनले बताए । करोडौ मानिस प्रतिदिन ३ ग्यालेन भन्दा कम पानीले गुजारा चलाउने तथा अमेरिकनहरु भने सरदर १ सय ६० ग्यालेन पानी प्रयोग गर्ने तथ्यांकले देखाउँछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij