
शनिवार , चैत्र ७, २०७७
भैरहवा, ७ चैत ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार एकदिने मानव अधिकार शिक्षा विषयक तालिम भैरहवामा सम्पन्न भएको छ ।
तालिमको उद्घाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अधिकारसंगै कर्तव्य पनि जोडिएको बताए । उनले आफु जहाँ छौं त्यही अनुसारको भूमिका खेले मानव अधिकारको संरक्षण हुने बताए । उनले नेपालको संविधानले मानव अधिकारको ग्यारेण्टी गरेको बताए । उनले मानव अधिकारको उल्लंघन गर्नेलाई कारवाही गर्ने परिपाटी रहेको बताए ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका अध्यक्ष प्राध्यापक सुर्दशन प्रसाद नेपालले व्यक्तिले आफैले आफूलाई चिन्नुपर्ने बताए । उनले पद्धति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए । मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष महामुनिश्वर आचार्यले निर्वाचित प्रतिनिधि शासनको रुपमा प्रस्तुत भइरहेको बताए । उनले मुलुकले शान्ति र शुसासन खोजेको बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान उत्कृष्ट बनाएर मात्र नहुने भएकोले यसको कार्यान्यवन हुनुपर्ने बताए । उनले अहिले लोकतन्त्रलाई ठूलो खतरा निर्वाचित प्रतिनिधिबाटै भएको बताए । संविधानले दिएको अधिकार प्रयोग नगरिए त्यो मर्दै जाने उनको भनाइ थियो ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका संयोजक प्राध्यापक सुर्दशन प्रसाद नेपालको अध्यक्षता, सदस्य रुपमा हिराचनको स्वागत तथा सचिव पवन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रा.डा. गोविन्द ढकालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । तालिमको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र प्रा.डा. गोविन्द ढकालले सहजीकरण गरेका थिए । तालिममा १ सय जनाको सहभागिता रहेको संगठनले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij