
सोमवार , फाल्गुण १९, २०८१
भैरहवा, १९ फागुन । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पस अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
निर्वाचन प्रयोजनका लागि पूर्वप्रकाशित तालिका अनुसारका सम्पूर्ण कार्यक्रमहरु क्याम्पसमा सृजना भइरहेको असहज परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म लागि स्थगित गरिएको निर्वाचन अधिकृत गणेश प्रसाद पाण्डेयले जानकारी दिए ।
क्याम्पसमा क्रियाशील सम्पूर्ण विद्यार्थी संघ–संगठनहरुको प्रतिनिधित्व हुने गरी सर्वपक्षीय बैठकको सहमतिमा प्रक्रिया अगाडि बढाइने पाण्डेयले बताए ।
सोमबार बिहान केही विद्यार्थी संगठनले क्याम्पसको हलमा तोडफोड गरेका छन् । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज संगठन दर्ता गर्ने समय तोकिएकोमा केही विद्यार्थी संगठनहरुले तोडफोड गरेका कारण संगठन दर्ताकाे काम राेकिएकाे हाे।
समाजवादी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस इकाई इञ्चार्ज इरफान अलीले स्नातक तहमा भर्नाका लागि तोकिएको समयमा धेरै दिन विदा परेको र समय प्रयाप्त नभएकोले पुनःभर्ना खुलाउनुपर्ने बताए । ‘स्ववियु निर्वाचनका लागि चैत ५ गते तोकिएको छ, तर यो समयलाई केही दिन सारेर भर्ना खुलाउनुपर्छ भन्ने हाम्रो जोडदार माग छ’ उनले भने–‘विद्यार्थी भर्ना हुनुपर्ने माग राख्दै पाँचवटा संगठनहरु संयुक्त रुपमा आइतबार निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हौं ।’
उनका अनुसार क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, विद्यार्थी जनमत संघ र स्वतन्त्र मधेशी विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन् । सोही विषयमा सोमबार बिहान छलफल भइरहेको बेला अनेरास्ववियुले बाजागाजासहित संगठन दर्ता गराउने प्रयास गरेपछि तोडफोडमा उत्रिनुपरेको उनले बताए ।
अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले निर्वाचन तालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले क्याम्पसमा गरिएको तोडफोड कार्य निन्दनीय भएको र तोडफोडबाट भएको क्षतिको सम्बन्धित व्यक्तिहरुले नै क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij