२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारले प्रभावकारी सहजीकरण गर्छ : मुख्यमन्त्री आचार्य

आइतवार , फाल्गुण ११, २०८१

दाङ, ११ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गरे ।

‘आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस्’, मुख्यमन्त्री आचार्यले भन,‘प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन ।’ परिणाममुखी काम आवश्यक रहेको बताउँदै उनले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह गर्नुभयो । ‘छिटो परिणाम दिन जरुरी छ’,उनले भने,‘सरकारले पूर्ण साथ र सहयोग गर्छ ।’

कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई न्याय दिन गठन भएको यो अन्तिम संवैधानिक आयोग भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने बताए । ‘यो अन्तिम आयोग हुनेछ । विगतमा पटकपटक आयोग गठन भए पनि समस्या समाधान हुन सकेको थिएन’,उनले भने,‘अब न त कोही जग्गाको मामिलामा अन्यायमा पर्छ, न त कोही भूमिहीन नै रहन्छ । हामी एकपटकका लागि देखिएका सबै समस्या समाधान गर्छौं ।’ त्यसै गरी, उनले आवश्यकताअनुसार अध्यादेश पारित गरिने बताए । ‘जनताको हितमा अध्यादेश आवश्यक छ’, उनले भने,‘छिटोछरितो काम गर्न जरुरी छ ।’

WhatsApp Image 2025-02-23 at 12.21.29 PM (1).jpeg

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि प्रसाद रिजालले भूमिको समस्या स्थायी रूपमा समाधान गर्न संवैधानिक अधिकार प्राप्त आयोग बनेको जानकारी दिए । ‘भूमिका कारण जनता विभेदमा परेका छन् । यो आयोग संवैधानिक आयोग हो, जसले भूमि समस्या समाधान गर्छ,’उनले भने,‘कुनै पनि नागरिक सम्पत्तिबिहीन हुने छैन । संविधानले आवासको हक ग्यारेण्टी गरेको छ ।’

लुम्बिनी प्रदेशमा २ लाख ९६ हजार निवेदन संकलन भएका छन्, जसका आधारमा आयोगले आफ्नो काम अघि बढाइरहेको छ । यसअघि भएका कामलाई वर्तमान आयोगले निरन्तरता दिने जानकारी दिइएको छ । 
प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा भूमिसम्बन्धी समस्या बढिरहेको छ । साथै, देशभर १० लाख ९७ हजार निवेदन संकलन भइसकेका छन् । जिल्ला तहमा गठन भएका आयोगका अध्यक्ष, सदस्य तथा सदस्य सचिवलाई एकसाथ अभिमुखीकरण गरिएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जनताप्रतिको प्रतिबद्धता पूरा गर्न वर्तमान सरकार दृढ रहेको बताए । त्यस्तै प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विगतमा भूमिसम्बन्धी समस्या समाधान हुन नसकेको बताउँदै, वर्तमान सरकारले समाधानका लागि ठोस कदम चालेको उल्लेख गरे ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वास्तविक भूमिहीन तथा सुकुम्बासीले न्याय पाउनुपर्ने बताए ।  नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले जनताको मूल मर्मसँग जोडिएर सरकार अघि बढिरहेको बताए ।