२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रुपन्देहीमा एक महिनामा १६१ जना फरार प्रतिवादी पक्राउ

शुक्रवार , फाल्गुण २, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • भैरहवा, २ फागुन । रुपन्देही जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको तर, फैसला अनुसार सजाय र कैद भुक्तान नगरी फरार रहेका १६१ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले माघ महिनामा पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत पुस महिनामा ८४ जना र माघ महिनामा १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले बताए। 

    बिहीबार भैरहवामा आयोजना गरिएको मासिक पत्रकार भेटघाट कार्यक्रममा एसपी राठौरले फैसलापछिको अवधिको आधारमा माघ महिनामा २० वर्षपछि १३ जना, १५ वर्षपछि ४६ जना, १० वर्षपछि ४८ जना, ५ वर्षपछि ३४ जना र ५ वर्षभन्दा कमको अवधिका २० जना गरी १६१ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको बताए । उनले माघ महिनामा २४ वर्ष ५ महिना ५ दिन कैद र ३२ लाख ३२ हजार २ सय ९१ रुपैया जरिवाना असुल उपर गरिएको बताए । 

    IMG_3966.JPG

    रुपन्देहीमा यस्ता करिब २ हजार ८ सयजना फरार प्रतिवादीहरु रहेको रुपन्देही जिल्ला अदालतको तथ्यांकले देखाएको उनले बताए । ‘यसमध्ये कतिपयलाई त आफूले पाएको सजायबारे जानकारी नै छैन, कतिपयले जानी जानी पनि लापरवाही गरेका छन् । यस्ता व्यक्तिहरुलाई हामीले पक्राउ गरी अदालतमा पेश गरेपछि मात्र कैद तथा जरिवाना भुक्तान हुने गरेको छ,’राठौरले भने ।

    रुपन्देही प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा यस मातहतका निकायबाट गरेर माघ महिनामा १३ वटा चोरीका मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरिएको हो । त्यस्तै लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यसै अवधिमा अवैध कल बाईपासमा संलग्न रहेको आरोपमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ घर भइ हाल सिद्धार्थनगर नगरपालिका–३ मा कोठा भाडामा लिएर बस्दै आएका रोहित अहिरलाई पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।

    माघ महिनामा रुपन्देही प्रहरीले ८० लाख ५४ हजार ४ सय ५६ रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न अवैध सामानहरु बरामद गरी भैरहवा भन्सार कार्यालय पठाएको छ । माघमा  १३० वटा विभिन्न मुद्दाहरु दर्ता भएको र ५० वटा फछर्यौट भएको छ ।

    माघ महिनामा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहत रहेका युनिट गरी संयुक्त रुपमा ३ हजार १ सय ५७ वटा सवारीसाधनमाथि कारवाही गरिएको छ । कारवाहीबाट ३७ लाख १२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सुमन गैह्रेले जानकारी दिए । रुपन्देही प्रहरीका अनुसार माघमा १८ जनाले जिल्लामा आत्महत्या गरेका छन् ।