२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

डा. सुमित प्रजापतिलाई सम्मान तथा बिदाइ

मंगलवार , चैत्र ३, २०७७

भैरहवा, ३ चैत । 
भैरहवास्थित भीम अस्पतालमा कार्यरत डाक्टर सुमित प्रजापतिलाई सम्मान तथा बिदाइ गरिएको छ । विगत डेढ वर्षदेखि भीम अस्पतालमा कार्यरत डा. प्रजापतिलाई मंगलबार एक कार्यक्रमका बीच लियो क्लब अफ सिद्धार्थनगर युथसहित र विभिन्न व्यक्तित्वहरुले सम्मान तथा विदाई गरेका छन् । डा. प्रजापतिको दाङस्थित लमही अस्पतालमा सरुवा भएको छ ।
कोभिड–१९ फोकल पर्सनको रुपमा भीम अस्पतालमा सेवा गर्नुभएका डा. प्रजापतिलाई सम्मान तथा बिदाइ गरिएको कार्यक्रम संयोजक सुरज उपाध्यायले बताए । 

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले डा. सुमित प्रजापतिको नेतृत्वमा भीम अस्पतालले कोरोना महामारीको कठिन परिस्थितिमा काम गरेको बताए । उनले सरुवा नियमित प्रक्रिया भएकोले डा. प्रजापतिको कामको प्रशंसा सदैव भइरहने उल्लेख गरे । उनले अस्पतालका पूर्व मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले पनि राम्रो काम गर्नुभएको चर्चा गरे । कोरोना महामारीमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उनले चर्चा गरे । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डेयले राम्रो काम गर्ने मान्छेको प्रशंसा गर्न कञ्जुस्याई गर्न नहुने बताए । IMG_5338.JPG

कार्यक्रममा बोल्दै डा. सुमित प्रजापतिले भीम अस्पतालमा रहुञ्जेल विभिन्न उतारचढावलाई सामना गर्दै अस्पताल टिमको सहयोगले विरामीहरुको सेवा गरेको बताए । उनले कोभिड–१९ को समयमा आफ्नो एकल प्रयास मात्र नभइ अस्पतालकै टिमको सहयोग रहेको बताए । उनले यही सहयोगका कारण गत फागुन ३ गते आफुले प्रदेश सरकारबाट प्रदेश सेवा समर्पण पदक पाएको उनले बताए ।

नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका सह–सचिव रविकान्त उपाध्यायले कोभिड–१९ बेला डा.  प्रजापति सक्रियताका साथ खट्नुभएको बताए । उनले डा. प्रजापतिको अतुलनीय योगदानलाई बिर्सन नसकिने बताए ।

लियो क्लब अफ सिद्धार्थनगर युथ वर्ष २०२०/२१ का अध्यक्ष विकास यादवले कोभिड–१९ को बेला सक्रियता साथ विरामीको सेवामा लाग्नुभएका डा. प्रजापतिलाई सम्मान गर्न पाउँदा खुशीको अनुभुति भएको बताए ।

नेपाल सि.एम.ए. संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायको स्वागत तथा लियो क्लब अफ सिद्धार्थनगर युथका द्वितीय उपाध्यक्ष अनुराग पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।