२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

उपभोक्ता सचेत हुनुपर्नेमा जोड

मंगलवार , चैत्र ३, २०७७

भैरहवा, ३ चैत । 
उपभोक्ता स्वयं पनि सचेत हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले आफू सचेत भएर अरुलाई पनि सचेत बनाउनुपर्नेमा जोड दिए । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय सिद्धार्थनगर, रुपन्देहीको सह–आयोजनामा सोमबार भैरहवामा भएको अन्तरक्रिया तथा सचेतना गोष्ठीमा सहभागिहरुले उपभोक्ताले सामान किन्दा बिल लिने बानीको विकास गर्नुपर्ने बताए । उनीहरुले उद्योगी व्यवसायी आफै पनि उपभोक्ता भएकोले उपभोक्ताको अधिकारमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले कानून मात्र लादेर नहुने भएकोले आफू सचेत बनेर अरुलाई सचेत बनाउनुपर्ने बताए । उनले खानेकुरा खरीद गर्नुअघि ध्यान दिनुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले समस्या समाधानको लागि सिद्धार्थनगर नगरपालिका छलफल र सहकार्य गर्न तयार रहेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले एकीकृत बजार अनुगमन प्रणालीमा जोड दिए देखिने रुपमा उपलब्धी हुने बताए । उनले उद्योगी, व्यवसायी स्वयं उपभोक्ता भएकोले उपभोक्ताको अधिकारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले विषादीको सहज उपलब्धता भएका कारण पछिल्लो समय विष सेवन गरेर आत्महत्या भइरहेको बताए ।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नेत्र प्रसाद पाठकले उपभोक्ता सचेत भए धेरै समस्या समाधान हुन सक्ने बताए ।
भानु माध्यमिक विद्यालय भैरहवाका प्रधानाध्यापक मोतीलाल सुवेदीले जंगफुडको प्रोत्साहन गर्न नहुने बताए ।
निर्माण व्यवसायी मञ्जु भुसालले उपभोक्ता हकअधिकारसम्बन्धि जनचेतना शहरमा केन्द्रीत मात्र नभइ ग्रामीण क्षेत्रमा पनि लैजानुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सह–सचिव कमल रायमाझीले समस्या मात्र थोपर्ने र नकारात्मक कुरा गरेर समस्याको समाधान नहुने बताए ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले जिल्लास्तरीय अनुगमन समितिलाई थप सक्रिय बनाउनुपर्ने बताए ।
लेखक ऋषि आजादले उपभोक्ता मालिक भएको र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताए । 

त्यस्तै पत्रकार दीपक घिमिरे, राधेश्याम विश्वकर्मा, पशुपति यादव, चेतन पन्त, प्रख्यात बञ्जाडे, विन्दु कुमार चौहान, रिमा बि.सी. लगायतका उपभोक्ताको हकअधिकारका बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगर, रुपन्देहीका निर्देशक यम बहादुर कुंवर, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्का र उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले उपभोक्ताको हकअधिकारसम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।