२०८२, पौष २७ गते

Jan 11 2026 | २०८२, पौष २७ गते

जोसँग तागत छैन, उनीहरुले सरकार फेर्ने कुरा गरिरहेका छन् : अर्थमन्त्री पौडेल

सोमवार , माघ २१, २०८१

  • 649
    Shares
  • 649
    Shares
  • भैरहवा, २१ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्तमान सरकारले राम्रो काम गरिरहेको र गर्दै जाने बताएका छन् । उनले सरकारले अब गेयर चेन्ज गर्दै स्पीड बढाउने दावी गरे ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘सरकारले राम्रो काम गर्छ, राम्रो काम गर्दै जान्छ’उनले भने–जोसँग सरकार फेर्ने तागत छैन, उनीहरुले सरकार फेर्ने कुरा गरिरहेका छन् ।’ 

    सरकारले ल्याएको अध्यादेशको नतिजा क्रमशः आउने उनले बताए । अध्यादेशका कन्टेन्टहरु छलफल र बहसको विषय बनाउनुपर्ने उनले बताए । अर्थमन्त्री पौडेलले आफूहरुले धेरै अफ्ठयारोमा जिम्मेवारी लिएको बताए । ‘मुलुकलाई ओरालोमा जानबाट बचाएका छौं, आम नागरिकमा विश्वास बढाउँदै जानेछौं’उनले भने–संविधानको रक्षा, प्रभावकारी कार्यान्वयन, सुशासन र विकास निर्माण अहिलेको मुख्य एजेण्डा हो।’ 

    रुपन्देहीले राष्ट्रिय रुपमै अलग्गै पहिचान बनाएको उनले बताए । ‘सिद्धबाबाको सुरुङमार्ग बन्छ भन्ने कतिपयले पत्याएका थिएनन्, अहिले ब्रेक थु्र भएको छ’ उनले भने–‘काम सम्पन्न हुन बाँकी छ । यसले राष्ट्रियव्यापी रुपमा तरङ भएको छ ।’

    नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका पौडेलले सुरु भएको आयोजनामा पत्रकारको कलम र क्यामेरा पुग्नुपर्नेमा जोड दिए । ‘निर्माणाधिन आयोजनाहरुमा यहाँहरुको निगरानी होस्, गुणस्तरहीन कार्य नहुनका लागि यहाँहरुको निगरानी महत्वपूर्ण छ’ उनले भने–‘पदमा हुँदा वा नहुँदा पत्रकार महासंघसँग निरपेक्ष रुपमा मेरो साथ छ ।’ पछिल्लो समय रोजगारी र अध्ययनका लागि विदेश जाने परिपाटी भएकाले सफल उद्यमीका समाचार बनाउनुपर्ने उनले आग्रह गरे । 

    सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धि ल्याएको विधेयक वाक स्वतन्त्रताविरुद्ध नभएको उनले स्पष्ट पारे । अर्थमन्त्री पौडेलले नियमन र नियन्त्रण फरक विषय भएको बताउँदै विधेयकमा वाक स्वतन्त्रतालाई नियन्त्रण नभइ नियमन मात्रै गर्ने विषय समेटिएको उल्लेख गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले महासंघको वर्तमान अवस्था र भावी योजनाबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएका थिए । महासंघले अघि सारेका योजनाहरुलाई सफल पार्न सके यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि ठूलो सफलता र अवसर सिर्जना हुन सक्ने बताउँदै अध्यक्ष पाण्डेले सरकारकोतर्फबाट सहयोगका लागि आग्रह गरे । 

    महासंघले वार्षिक कार्योजनामा अघि सारेका कार्यक्रमहरु पत्रकारका लागि लेखनवृत्ति सञ्चालन, नलेज सिरिज सञ्चालन, कल्याणकारी अक्षयकोषमा कोष वृद्धि, रुपन्देहीका विकास योजनाहरुको बारेमा बहस, पत्रकार महिलाहरुका लागि सुत्केरी भत्ताको व्यवस्था लगायतका योजनामा सरकारले सहयोगको अपेक्षा गरे । 

    कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्षहरुको समेत सहभागीता रहेको थियो । पत्रकार महासंघ रुपन्देहीका सचिव सी.पी. खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।