२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

तरुण दल तिलोत्तमाद्वारा मृगौलापीडितलाई आर्थिक सहयोग

सोमवार , चैत्र २, २०७७

तिलोत्तमा, २ चैत । 
राजनीतिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममा क्रियाशिल रहंदै आएको नेपाल तरुण दल तिलोत्तमा नगर समिति रुपन्देही मानवीय सेवामा समेत क्रियाशिल रहेको छ । सामाजिक उत्तरदायित्व र मानविय सेवा अन्तर्गत तरुण दल नगर समितिले तिलोत्तमा नगरपालिका वडा नम्बर निवासी दुवै मृगौला फेल भएकी पुनम गिरीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

तरुण दलका सदस्य केवल गिरीकी बहिनी पुनम गिरीको दुवै मृगौला फेल भएकाले उनको स्वास्थ्य उपचारका लागि तरुण दलको सक्रियतामा संकलन गरिएको नगद ५५ हजार सहयोग स्वरुप प्रदान गरिएको तरुण दलका नगर अध्यक्ष खिम क्षेत्रीले जानकारी दिए ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य काजिमान श्रेष्ठ, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तरुण दलका पूर्व जिल्ला अध्यक्ष चिरञ्जिवी पौडेल, तरुण दलका केन्द्रिय पार्षद बिजेश न्यौपाने, तरुण दल क्षेत्र नम्बर ३ क्षेत्रीय सभापति किशोर सुवेदी, २ का सभापति प्रकाश गैरे, नेपाली कांग्रेस तिलोत्तमा नगर सह–सचिव सञ्जिव बस्याल, बि.पी विचार समाजका नगर सभापति कल्याण पौडेल लगायतले मृगौला पीडितलाई आर्थिक सहयोग गरेर तरुण दल तिलोत्तमा नगर समितिले उदाहरणीय र प्रशंसनीय काम गरेको बताए ।

दलका नगर सभापति खिम क्षेत्रीले पुनमको स्वास्थ्य उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको र आगामी दिनमा पनि सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने बताए । तरुण दल तिलोत्तमा नगर समितिले समाजमा व्याप्त विसंगति र विकृतिकाविरुद्ध समाजलाई सुसुचित गर्नुका साथै स्वास्थ्य र खेलकुद क्षेत्रका गतिविधि समेत संचालन गर्दै आएको छ ।