२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

महिला उद्यमीको विकासका लागि राज्यले थप सहयोग गर्नुपर्नेमा जोड

शनिवार , माघ १९, २०८१

  • 913
    Shares
  • 913
    Shares
  • भैरहवा, १९ माघ । महिला उद्यमीको विकास र विस्तार गरी उनीहरुको अवस्थामा परिवर्तन ल्याउन राज्यले नीतिगत रुपमा सुधार गर्नुपर्नेमा महिला उद्यमीहरुले जोड दिएका छन् । पछिल्लो समय नेपालमा महिला उद्यमीको संख्या वृद्धि भए पनि राज्यको झण्झटिलो नीतिका कारण अहिले पनि चाहेअनुरुप उद्यम गर्न नसकेको उनीहरुले बताएका छन् ।

    महिला उद्यमी महासंघ, नेपालको आयोजनामा रोल्पाको रोल्पा नगरपालिका–४ स्थित गुरुङ गाउँ सामुदायिक होमस्टे सञ्चालन गरेका महिलाहरुलाई दिइएको तालिम पश्चात लुम्बिनीमा आयोजित सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रममा महिला उद्यमीहरुले नीतिगत सुधार गर्न माग गरेका छन् ।  महिला उद्यमीहरुलाई दिइएको तालिम पश्चात शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा सिकाई अनुभव आदानप्रदान गरिएको हो ।

    महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले महिलाहरुलाई उद्यमशीलतातर्फ अग्रसर गराउँदै व्यक्ति, परिवार र सिंगो राष्ट्रको अर्थतन्त्रलाई टेवा पुर्याउनु आजको आवश्यकता भएको बताइन् । उनले महिला उद्यमीले सुरु गरेका उद्यमको विकास र विस्तारका लागि राज्यले लगानी र बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइन् । अध्यक्ष ज्ञवालीले कोरोना भाइरसको महामारीपछि थलिएको ग्रामीण भेगका होमस्टेहरुलाई पुनः सुचारु गर्न र महिलाहरुलाई प्रविधिमैत्री बनाउनका लागि कार्यक्रम गरिएको बताइन् ।

    महिला उद्यमी महासंघले रोल्पाका महिलाहरुलाई गाउँमै पुगेर तालिम र प्रशिक्षण दिएको उनले बताइन् । उनले महिला उद्यमीहरुलाई व्यापारमा सहयोग गर्ने उद्देश्यअनुरुप महासंघले सन् २०२४ को डिसेम्बरमा सह–आयोजकको रुपमा अस्ट्रेलियाको राजधानी मेलबर्नमा मेड ईन नेपाल एक्सपो–२०२४ आयोजना गरी नेपाली उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गराउँदै आएको बताइन् ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दीन मुसलमानले महिलाहरुको लागि महिला उद्यमी महासंघ नेपालले महत्वपूर्ण कार्यक्रम गरेको बताए । ‘महिलाको जीवनस्तर उकास्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्छ’उनले भने–‘लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।’

    महिला उद्यमी महासंघ नेपालकी कार्यकारी निर्देशक अभिलाषा पौडेलले महिला उद्यमीको सशक्तिकरण र क्षमता अभिवृद्धिमा जोड दिदै अघि बढेको बताइन । उनले तालिमले महिला उद्यमीमा थप उर्जा प्रदान भएको बताइन् । महिला उद्यमी संघ रुपन्देहीका अध्यक्ष अनिता केसीले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन राज्यले साना तथा मझौला उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिइन् ।

    IMG_3045.JPG

    तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले कोभिड–१९ भन्दा अगाडिसम्म गुरुङ सामुदायिक होमस्टे राम्रोसँग चलेको भएतापनि तत्पश्चात राम्रोसँग चल्न नसकेको बताए । उनीहरुले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्ने बताए । सरकारबाट आवश्यक सहयोग हुनुपर्ने उनीहरुको माग छ ।

    महिला उद्यमी महासंघ नेपालले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सौजन्य तथा रोल्पा नगरपालिकाको समन्वयमा रोल्पा नगरपालिका–४ मा माघ ८ देखि १५ गतेसम्म होमस्टे व्यवसाय तथा डिजिटल सुरक्षा सम्बन्धी तालिम सञ्चालन गरेको हो ।

    महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामीत्वमा रहेका व्यवसायहरुको डिजिटलाईजेशन र उद्यमशीलता विकासद्वारा आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत तालिम सञ्चालन भएको परियोजना संयोजक भूपेन्द्र वत्स लम्सालले बताए । उनका अनुसार परियोजना गण्डकी प्रदेशको बागलुङ र लुम्बिनी प्रदेशको रोल्पामा सञ्चालन हुन्छ ।