२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीको सेमलारमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने

शुक्रवार , माघ १८, २०८१

भैरहवा, १८ माघ । रुपन्देहीको सेमलारमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित सेमलार भाटाप्रगति टोलमा राष्ट्रिय परोपकार महासंघ नेपाल, रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा महायज्ञ हुने भएको हो । महायज्ञ फागुन ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । संस्थाले शुक्रबार भैरहवमा एक कार्यक्रम आयोजना गरी महायज्ञको उद्देश्यबारे जानकारी दिएको छ । 

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष कमल नयन गौतमले श्रीमद् भागवत् धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालनले समाजका विभिन्न सामाजिक तथा धार्मिक क्षेत्रमा टेवा पुग्ने बताए । ‘धेरै गरियो दान पुण्य, धेरै मागियो यसपालीको दान पुण्य आफ्नै लागि हो’उनले भने, ‘महायज्ञ समाजसेवाको परोपकारका भावनाले आयोजना गरिएकाले सहयोगी व्यक्तिहरुले गरेको सहयोगबाट विभिन्न कार्यमा सेवा पुग्नेछ ।’

महायज्ञपश्चात् समाजका निम्ति वृक्षरोपण, जडीबुटी वृक्षरोपण गर्ने, बालबालिका केन्द्रित सेमिनार तथा गोष्ठी गरिने र उनीहरुलाई नैतिकता शिक्षा प्रदान गर्ने उनले बताए । जेष्ठ नागरिकहरुलाई तत्कालीन समस्या समाधानका लागि सेवा केन्द्रहरु स्थापना गर्ने, योग साधना, आराधनासँग जोडेर विचार र मस्तिष्कलाई जोडेर परिवर्तन गराएर समाजलाई सभ्य समाजतर्फ दिशानिर्देश गर्ने परोपकार अभियान रहेको उनले बताए । मानव समाजमा तनमनबाट सेवा भाव जगाउने महायज्ञको अर्को मूल ध्येय रहेको उनले जानकारी दिए । रुपन्देहीबासीलाई महायज्ञमा सहभागी भइ संस्था र यस अभियानका बारेमा पूर्ण जानकारी ग्रहण गर्न उनले आग्रह गरे । ‘सहयोगदाताले जुनसुकै माध्यमबाट आफूलाई सहज र सुलभ तरिकाले सहयोग गर्नुहुने हाम्रो विश्वास छ’, उनले भने ।

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय सदस्य तुलसीराम भण्डारीका अनुसार यस संघले विभिन्न धार्मिक कार्यक्रमहरुबाट उठेका दानले समाजका लागि आवश्यकता अनुसारको सामाजिक कार्य गर्दै आएको छ । अहिले जिल्लामा गर्न गइरहेको श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञबाट उठेको दान, भेटीहरुलाई धार्मिक कार्यहरु गरी समाजलाई सुसज्जित बनाउने लक्ष्य रहेको उनले बताए । अहिलेका पुस्तालाई धार्मिक क्षेत्रमा जोड्नु पनि आफूहरुको उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा मुल समारोहका अध्यक्ष हरिध्वज मल्लले परोपकारको भावनाका साथ जिल्लाका विभिन्न ठाउँमा रहेको व्यक्तित्वहरु, संघ–संस्थाहरु तथा विभिन्न निकायबाट सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए । साथै सबैको उल्लासपूर्ण सहभागीताको लागि अनुरोध समेत गरे ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख तथा दुर्गा मन्दिरका अध्यक्ष हरि प्रसाद अधिकारीले मानव समाजलाई सभ्य र संस्कृतिमैत्री बनाउनका लागि यस्ता महायज्ञहरु निरन्तर हुनुपर्ने जनाए । समाजसेवी शान्ति अधिकारीले सबैको सहकार्यमा मात्र महायज्ञलाई सफल पार्न सकिने भन्दै सहयोगको अपेक्षा गरिन् । कार्यक्रममा विभिन्न धार्मिक संघ–संस्थाका प्रतिनिधिहरु, उद्योगी–व्यवसायी तथा साहित्यकारहरु लगायतको उपस्थिति थियो ।