२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

मर्चवार क्षेत्रको विद्युत आपूर्ति सुधार्न सबस्टेशन निर्माण तीव्र

शुक्रवार , माघ १८, २०८१

  • 319
    Shares
  • 319
    Shares
  • भैरहवा, १८ माघ । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत सबस्टेशनको काम ४० प्रतिशत पूरा भएको छ । तीनवटा पालिकालाई लक्षित गरी निर्माण भइरहेको महदेइया सबस्टेशनको निर्माण कार्यसम्पन्न भएपछि यो क्षेत्रको विद्युत आपूर्तिमा स्थायी रुपमै सुधार आउने प्राधिकरणले जनाएको छ ।

    नेपाल विद्युत प्राधिकरण योजना शाखाका इञ्जिनियर जगदीशराज बरालका अनुसार सबस्टेशनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भएको छ । परियोजनाको सबै काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा कार्य भइरहेको ई.बरालले बताए ।

    निर्माणका लागि इथोस पावर एसआईपीएस जेभीसँग २०७९ सालको फागुन महिनामा सम्झौता भएको थियो । ‘यद्दपि सो म्याद अब केही दिनमै सकिदैछ’उनले भने–‘पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सबस्टेशनलाई सञ्चालनमा ल्याउने योजनामा छौं ।’ ‘साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा ढिलाइ बरालले बताए । अब अधिकांश सामग्री व्यवस्थापन भइसकेको छ र काम तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ ।

    निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण कार्य समयमै पूरा हुन नसकेको बताए । डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले दैनिक रुपमा तीव्र गतिमा काम गरिरहेको छ’ उनले भने– ‘हालसम्म ८ सय ५० विद्युतीय पोलको जडान सम्पन्न गरिसकिएको छ ।’ अब केही दिनमा पोलमा तार तान्ने काम गरिने उनले बताए । तारपोल व्यवस्थापन पछि ट्रान्सफार्मरको व्यवस्था गरी लो भोल्टेज र विद्युत कटौतीको समस्या छिट्टै समाधान हुने उनले बताए ।

    IMG_7108.JPG

    मर्चवारको सम्मरीमाई, मर्चवारी र कोटहीमाई गाउँपालिका क्षेत्रमा विद्युत आपूर्तिको समस्या बिकराल छ । बत्ती बारम्बार जानु र विद्युतको ट्रिपिङका हुनुका कारण उपभोक्ता मारमा पर्ने गरेको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राधेश्याम कुर्मीले बताए । ‘मर्चवार जस्तो समृद्धिको सम्भावना राख्ने क्षेत्रका लागि विद्युतको नयाँ संरचना निर्माण र विस्तारका लागि आवश्यक कामहरू ढिलो हुँदै आएका छन्, ’वडाअध्यक्ष कुर्मीले भने ।

    महदेइयाँमा विद्युत सबस्टेशनको निर्माणपछि मर्चवार क्षेत्रमा विकासको नयाँ अध्याय सुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले बताए ।  ‘विद्युतको समस्या क्षेत्रकै प्रमुख समस्यामध्ये एक रहेको छ’उनले भने, ‘यहाँ लो भोल्टेज र अनियमित विद्युत कटौतीको समस्या छ । जसको सामना मर्चवारबासीले गर्नुपरेको छ ।’  प्रदेश सभा सदस्य बनियाले यो सबस्टेशन निर्माण भएपछि मर्चवार क्षेत्रको हरेक गाउँमा हुने विद्युतको समस्या अन्त्य हुन्छ । 

    ‘मलाई जनताले निर्वाचित गराएदेखि नै यो प्रोजेक्टको लागि विभिन्न निकायसहित नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसँग पनि विभिन्न चरणमा भेटेर मर्चवारको विद्युत समस्या समाधान गर्न लागेको छु’उनले भने–यो विद्युत सबस्टेशन छिटो निर्माण कार्यसम्पन्न गराउन निरन्तर पहल गरिहेको छु ।’