२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

सवारीसाधनमा प्रेस नलेख्न पत्रकार महासंघ रुपन्देहीको आह्वान

बिहिवार , माघ १७, २०८१

  • 667
    Shares
  • 667
    Shares
  • लुम्बिनी, १७ माघ । नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । लुम्बिनीमा मंगलबार र बुधबार सम्पन्न संघको दुईदिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्तास्वरुप उपलब्ध गराउने घोषणा गरेको हो । 

    संघले उपलब्ध गराउने उक्त रकमध्ये ५ हजार रुपैयाँ आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने तथा ५ हजार रुपैया नवजात बच्चाको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । नवजात बच्चाको नाममा जम्मा गरिने रकम पुरुष पत्रकारलाई समेत उपलब्ध गराइने उनले उल्लेख गरे । 

    माघ १५ र १६ गते दुईदिनसम्म आयोजित कार्यायोजना निर्माण बैठकले पत्रकारहरुको क्षमता विकास, आर्थिक सशक्तिकरण तथा सञ्चार गृहहरुलाई आर्थिक रुपमा बलियो बनाउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ । महासंघले अँग्रेजी वर्ष २०२५ लाई आधार मानेर तत्कालिन र दीर्घकालिन योजनाहरु अघि सारेको छ । 

    संघको कल्याणकारी कोषवृद्धि गरेर ४० लाख रुपैयाँ बढी पुर्याउने, लेखनवृत्ति सञ्चालनका लागि ३० लाख बढीको कोष स्थापना गर्ने, संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरी क्षमता विकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, सामाजिक संघ–संस्थाहरुसँग सम्बन्ध विस्तारका लागि खेलकूद तथा अतिरिक्त क्रियाकलापहरुलाई थप व्यवस्थित बनाउने लगायतका एजेण्डाहरु पारित गरिएको सचिव सी.पी. खनालले जानकारी दिए । 

    महासंघले ३ वर्षको अवधिमा कम्तीमा ३० लाख रुपैयाँको लेखनवृत्ति कोष स्थापना गरी पत्रकारको क्षमता विकासमा लाग्ने योजना प्रस्तुत गरिएको कोषाध्यक्ष नरेश केसीले बताए । बैठकमा पारित भएका योजनाहरुलाई वार्षिक क्यालेण्डर बनाएर कार्यान्वयन गर्दै जाने उपाध्यक्ष विश्वास ढकालले बताए । बैठकमा श्रमजीवी पत्रकारहरुको विगत, वर्तमान र भविष्यका बारेमा समीक्षा गरिएको थियो । पत्रकारहरुको पेशागत हकहित र उनीहरुलाई आर्थिक रुपमा सशक्तिकरण गर्ने विषयलाई महत्वका साथ छलफल गरी योजनाहरु तयार पारिएको उपाध्यक्ष ढकालले बताए ।

    त्यसै गरी पछिल्लो समय सामाजिक सञ्चालमा देखिएका विकृति, सञ्चारकर्मीहरुले पालना गर्नुपर्ने आचरण तथा कानूनी प्रावधानहरुको बारेमा समेत गम्भिर रुपमा छलफल गरिएको उपाध्यक्ष मीना पाण्डे (अस्मिना) ले बताइन् । बैठकले पछिल्लो समय विभिन्न व्यक्तिहरुले सवारीसाधनहरुमा ‘प्रेस’ लेखेर हिड्ने, यसको दुरुपयोग गर्ने लगायतका गतिवधि बढेको बताउँदै उनले यस्ता गतिविधि रोक्न महासंघका कुनै पनि सदस्यले सवारीसाधनमा प्रेस नलेख्न र लेखेको भए मेटाउनका लागि आह्वान गरिएको उनले जानकारी दिइन् । 

    सञ्चारकर्मीको नाममा असम्बन्धित व्यक्तिहरुले समेत गतिविधि गर्ने र त्यसका कारण बवस्तविक सञ्चारकर्मीको मर्यादामा आँच आउने गरेको बताउँदै उनले यस्ता गतिविधि रोक्नाका लागि सबैको साझा पहल आवश्यक रहेको उल्लेख गरिन् ।