
सोमवार , चैत्र २, २०७७
बुटवल, २ चैत ।
एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलले नारी दिवसको सन्दर्भमा महिला हिंसाविरुद्ध अन्तरक्रिया कार्यक्रम गरेको छ ।
विद्यालय तथा समुदायमा महिलामाथि हुने हिंसाविरुद्ध बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता युवराज गिरीले हिंसा अन्त्यको लागि सबैमा चेतना अपरिहार्य रहेको बताए । समाजमा हुने जुनसुकै हिंसा पनि चेतनाको कमीका कारण हुने गरेको बताउँदै हिंसा न्यूनीकरणको लागि चेतनाको स्तर बढाउनुपर्ने उनको भनाइ थियो ।
त्यस अवसरमा एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ का सल्लाहकार तथा पूर्व संयोजक वरिष्ठ अधिवक्ता शालिकराम बञ्जाडेले नेपालको सन्दर्भमा हिंसाको अवस्था, पीडकलाई कारवाहीको लागि कानूनी व्यवस्था तथा पीडितलाई न्याय प्राप्तिको बारेमा भए/गरेका व्यवस्थाको बारेमा जानकारी गराएका थिए ।
समुहकी संयोजक सरिता भारी (बज्राचार्य) को अध्यक्षतामा भएको कार्यक्रममा एम्नेस्टी नेपालका पूर्व महासचिव तथा समुहका पूर्व संयोजक करुण खनाल, प्रस्तावित महिला समुहकी सदस्य राधा ज्ञवाली लगायतले भनाइ राखेका थिए ।
त्यसै गरी बुटवलका विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गरिएको छ । बुटवल उपमहागरपालिका वडा नम्बर ६ मा रहेको साधन महिला विद्यालय र तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एम्नेष्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवलले मानव अधिकार शिक्षा प्रदान गर्नुको साथै विद्यार्थीलाई मास्क र सेनिटाईजर प्रदान गरेको थियो ।
विद्यालय तहमा अध्ययन गर्ने ७० जना भन्दा बढी विद्यार्थी सहभागि भएको उक्त कार्यक्रममा समुहकी संयोजक सरिता भारी र कार्यसमिति सदस्य मधुकर घिमिरेले मानव अधिकार शिक्षाको बारेमा प्रकाश पारेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij