२०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘चीनको प्रगतिबाट पाठ सिके नेपालका लागि उपलब्धीमूलक हुन्छ’

सोमवार , माघ १४, २०८१

  • 757
    Shares
  • 757
    Shares
  • भैरहवा, १४ माघ । छिमेकी मुलुक चीनले गरेको प्रगतिबाट पाठ सिक्ने सके नेपालका लागि धेरै उपलब्धीमूलक हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । चीनले आर्थिक विकासमा अत्यन्तै फड्को मारेकोले यसको उन्नतिबाट पाठ सिक्ने सके नेपालका लागि उपलब्धीमूलक हुने उनीहरुको भनाइ छ । चिनियाँ नयाँ वर्ष (२९ जनवरी) को अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले सोमबार सिद्धार्थनगर-४ स्थित पूगता भूमि जेतवन विहारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

    कार्यक्रममा नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनले गरेको प्रगतिको केही अशं मात्र सिक्न सके पनि नेपालका लागि धेरै नै उपलब्धीमूलक हुने बताए । उनले प्रकृतिले धनी देश नेपाल भए पनि यहाँबाट विदेश पलायन हुने युवाको संख्या बढ्दै गएको बताए ।

    ‘चीनले कृषि, औद्योगिक, प्राविधिक क्रान्ति गरेको छ, त्यहाँको जनसंख्या १ अर्ब ३५ करोड छ’उनले भने–‘चीन कला, संस्कृतिले भरिएको विशाल देश हो । यो देशले धेरै विकास गरेको छ ।’ उनले लुम्बिनीको विकासले समग्र नेपालको विकास हुने बताए । ‘लुम्बिनीको महत्वबारे हामीले अझै बुझाउन सकेका छैनौं’उनले भने–‘नेपालमा रोजगारी सिर्जना गर्न सकेका छैनौं ।’ 

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले नेपाल र चीनबीचको सम्बन्धलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । उनले यसमा नेपाल–चीन मैत्री समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मेयर खाँले स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाकालाई व्यवस्थित बनाइने बताए । ‘सिद्धार्थनगरलाई क्लीन, ग्रीन एण्ड ईको–फ्रेण्डली नगरपालिका बनाउँछौं’उनले भने–‘सीमा नाकामा निर्माणाधिन सडकलाई पनि छिटो पूर्णता दिन निर्माण कम्पनीलाई भनेका छौं ।’

    सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले चीनले आर्थिक, सामाजिक  साँस्कृतिक रुपमा विकास गरेको बताए । ‘चीन हाम्रो असल छिमेकी हो’उनले भने–‘चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सबल नेतृत्व भए देश समृद्ध हुन्छ भन्ने उहाहरण छिमेकी मुलुकबाट लिन सक्छौं ।’

    हुवा बौद्ध बिहार, लुम्बिनीका चीखसी यान उ सीले नयाँ वर्ष चीनको प्रमुख पर्व भएको बताए । ‘चीन र नेपालबीच सम्बन्ध अझै बलियो होस्’उनले भने–‘विश्वमा शान्ति होस् भन्ने कामना गर्दछु ।’

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका महासचिव मनिष कुमार जोशीले यस वर्ष चीनले आफ्नो नयाँ वर्षलाई सर्प वर्षको रुपमा मनाउने बताए । समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीको धन्यवाद ज्ञापन तथा महासचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।