२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

रुपन्देही अदालतमा एक करोड धरौटी राखेर रिहा भए लामिछाने

आइतवार , माघ १३, २०८१

  • 916
    Shares
  • 916
    Shares
  • रुपन्देही, १३ माघ । रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.को रकम अपचलनसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतले तोकेको १ करोड धरौटी बुझाएर रिहा भएका छन् । सहकारी ठगीको आरोपमा जिल्ला अदालतले आदेश गरेको एक करोड रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा भएका छन् ।

    जिल्ला न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले प्रभु बैंक ग्यारेण्टी बसेपछि लामिछानेलाई रिहा गरेको जानकारी दिए ।

    न्यायाधीश योगीको इजलासले दिएको आदेशमा मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिदापछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम एक करोड नगद धरौटी, जायजेथा जमानत वा शर्तरहित बैंक ग्यारेण्टी लिइ तारेखमा राख्नु, बुझाउन नसके पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश दिएको थियो ।

    अदालतबाट रिहा भएपछि लामिछानेले न्यायालयप्रति आभार प्रकट गरे । न्यायाधीशको आदेशपछि बैंक ग्यारेण्टीमार्फत धरौटी रकम बुझाएर अदालतबाट रिहा हुँदै लामिछानेले भने, ‘मेरो अहिलेलाई भन्नुपर्ने केही छैन । भन्नुपर्ने बेला आउँदा भन्छु, अहिलेलाई न्यायालयप्रति आभार व्यक्त गर्दछु । जति पनि देश–विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने हुनुहुन्छ सम्पूर्णलाई धेरै–धेरै धन्यवाद ।’