२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रवि लामिछानेविरुद्ध आज पनि बहस हुँदै

शुक्रवार , माघ ११, २०८१

भैरहवा, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । हिजो बिहीबारको बहसमा लामिछानेका तर्फबाट बहस गर्ने वकिलहरुको पालो नआएका कारण बहस आज पनि हुने भएको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्धामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई बिहिबार पनि हाजिरी जमानीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार यज्ञमुर्ती ज्ञवालीले जानकारी दिए । 

मुद्दामा रवि लामिछानेका तर्फबाट आधा दर्जनभन्दा बढी वकिलहरुले बहस गर्ने तयारी गरेका छन् । हिजो सरकारी वकिलहरु र जाहेरवालाका तर्फबाट बरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । 

बिहीबार सरकारी वकिलका तर्फबाट प्रेमराज पौडेलसहित अन्य अधिवक्ताहरूले लामिछानेलाई हिरासतमै राखी थप अनुसन्धान गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट बहस अन्तिम चरणमा पुगेको र आज लामिछानेका पक्षबाट कानून व्यवसायीले बहस गर्ने अदालतले जनाएको छ ।

प्रतिवादीको तर्फबाट सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारीसहितका अधिवक्ताहरू बहस गर्ने तयारीमा रहेका छन् । बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने विषयमा आदेश आउनेछ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेसहित २८ जनाविरुद्ध ५५ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेको छ। साथै, लामिछाने र अन्य व्यक्तिहरूबाट व्यक्तिगत रूपमा समेत करोडौं बिगो दाबी गरिएको छ ।