२०८२, मंसिर ९ गते

Nov 25 2025 | २०८२, मंसिर ९ गते

बाबुको स्मृतिमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण

सोमवार , माघ ७, २०८१

  • 766
    Shares
  • 766
    Shares
  •  बुटवल, ७ माघ । आफ्ना बाबु स्वर्गीय अग्नीधर शर्माको स्मृतिमा छोराहरुले रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्कमा प्रतिक्षालयसहित पुस्तकालय निर्माण गरेका छन् । गुल्मीको कालिगण्डकी गाँउपालिका–७ भुर्तङ्ग छापचौर घर भइ हाल बुटवल उपमहानगरपालिका–३ विपी पथ, रामापिथेकस प्रगतिटोल निवासी पत्नी हरिकला शर्मा तथा छोराहरु सागर शर्मा र हिमोड शर्माले गोलपार्कमा प्रतिक्षालयसहित पुस्तकालयको निर्माण गरेका हुन । 

    करिब डेढ लाख रुपैयाँको लागतमा निर्मित गोलपार्क प्रतिक्षालयसहित पुस्तकालयको बुटवल–३ का वडाअध्यक्ष विष्णु प्रसाद ढकालले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै वडाअध्यक्ष ढकालले स्थानिय र यात्रुलाई सहयोग पुर्याउने उद्देश्यले निजी क्षेत्रबाट योगदान गर्न आवश्यक रहेको बताए । 

    गोलपार्कमा आवश्यक रहेको प्रतिक्षालयसहितको पुस्तकालयले स्थानीयका साथै यात्रुहरुलाई समेत लाभ पुर्याउने उनले उल्लेख गरे । अध्यक्ष ढकालले सामाजिक क्षेत्रमा काम गर्न युवाहरु जागरुक हुनुपर्ने धारणा राखे । राज्यको विकास निर्माणको अवधारणा अनुरुप स्थानीय समुदायबाट पनि सहयोगको अपेक्षा गरिएको उनले बताए । 

    स्थानीय समुदाय र बाटो हिंड्ने यात्रुहरुलाई घामपानीबाट सुरक्षित गर्न र सवारीसाधनको प्रतिक्षा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रतिक्षालयको निर्माण गरिएको छोरा सागर शर्माको भनाइ छ । प्रतिक्षालयमा बस्ने यात्रु तथा बटुवाहरुलाई पुस्तक पढ्ने बानीको विकास गर्नका लागि पनि पुस्तकालय समेत निर्माण गरेको उनले बताए ।  

    सो अवसरमा दुर्गा भवन मा.वि. छापचौरका पुर्व प्रध्यानाध्यापक पुण्य प्रसाद गौतम, पूर्व शिक्षक काशिराज पौडेल, बुटवल नगरपालिकाका पूर्व मेयर पुनाराम पोख्रेल, लायन्स क्लब अफ बुटवल सिटीका अध्यक्ष प्रकाश खनाल लगायतले छोराछोरीले जन्मदाताको सम्झनामा गरिएको यो पुण्यको काम भएकाले अरुले पनि यसबाट सिक्नुपर्ने बताए । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको समाजमा सधैं स्मरणीय रहने बताउँदै उनीहरुले छोराछोरीलाई आमाबाबुले संस्कारसहितको शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    जनप्रतिनिधिहरु पवित्रा श्रेष्ठ, रतिमाला विक, सामुदायिक प्रहरी बिटका लोकबहादुर जिसी, समाजसेवी माया ढकाल, सुरेन्द्र मान भारी लगायतको सहभागितामा आयोजित कार्यक्रममा संयुक्त भुपु सैनिक महासंघका महासचिव कुलबहादुर केसी, सुमन श्रेष्ठ लगायतले पुस्तकालयमा पुस्तक हस्तान्तरण गरेका थिए । 

    गुल्मीस्थित दुर्गा भवन मा.वि.छापचौरका पूर्वप्रधानाध्यापक समाजसेवी स्व. अग्नीधर शर्माले सामाजिक रुपमा पनि थुप्रै कामहरु गर्दै आएका थिए । साविकको भुर्तुङ्ग गाविस छापचौरमा रहेर शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत योगदान पुर्याएका शर्माका श्रीमती, दुई छोरा र दुई छोरी छन् । प्रतिक्षालयको उद्घाटनका अवसरमा बुटवल–३ स्थित ज्योतिनगरमा रहेको जनज्योति आधारभुत विद्यालयका छात्रछात्राहरुलाई पुस्तक तथा स्टेशनरी सामग्रीहरु पनि वितरण गरिएको थियो ।

    473105352_911898767786883_2247610011765931867_n.jpg