२०८३, श्रावण २९ गते

Aug 14 2026 | २०८३, श्रावण २९ गते

सवारीसाधनको आबद्धता बढाउन भलाई कोषले थाल्यो ८७ दिने विशेष अभियान

आइतवार , माघ ६, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • बुटवल, ६ माघ । सार्वजनिक तथा निजी सवारीसाधनको आबद्धता वृद्धि गर्ने लक्ष्यसहित यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले ८७ दिने अभियान सुरु गरेको छ । कोषले यो अभियानलाई तीन भागमा वर्गीकरण सवारी कोषमा आबद्ध हुने सवारीसाधनको संख्या बढाउने योजना बनाएको हो । 

    ८७ दिने अभियानको कोषका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य तथा रुपन्देही भूमि समस्या समाधान आयोगका अध्यक्ष कुमार थापाले आइतबार शुभारम्भ गरेका छन् । त्यसअवसरमा बोल्दै उनले धेरै भन्दा धेरै सवारीसाधनलाई कोषमा आबद्ध गराएर दुर्घटना न्यूनीकरणको अभियानमा प्रभावकारी ढंगले लाग्न आग्रह गरे । यो अभियानको सफलताका कामना गर्दै उनले दुर्घटनापछि हुने सम्भावित क्षतिबाट राहत दिलाउनका लागि कोषले थालेको यो अभियानले सार्थकता पाउने विश्वास व्यक्त गरे ।

    कोषले ८७ दिने विशेष अभियानमा सवारीसाधनहरुलाई विशेष छुटको योजना समेत ल्याएको छ । जसअनुसार ठूला गाडीको दर्ता शुल्क २ हजार १ सय रुपैयाँ लिदै आएकोमा यो अभियानभर १ हजार १ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै साना गाडीको दर्ता शुल्क १५ सय लिंदै आएकोमा अभियानभरका लागि पाँच सय रुपैयाँ कायम गरिएको छ । 

    त्यस्तै नयाँ सवारीसाधनको एकमुष्ट वार्षिक शुल्क काट्नेलाई टिसर्ट प्रदान गरिने छ भने विशेष ८७ दिने अभियानमा सबैभन्दा बढी गाडी कोषमा आबद्ध दर्ता गर्नेलाई सम्मान गरिने छ । अभियान सञ्चालनका लागि अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय संचालन कमिटी गठन गरिएको छ ।  

    उक्त अभियान अन्तर्गत माघ मसान्तभित्र पाल्पा, स्याङ्जा, कास्की, बाग्लुङ, कुश्मा, बेनी, रुकुम पूर्व, नवलपुर,  चितवन, मकवानपुर, पर्सा, सर्लाही, सिराहा, सुनसरी, मोरङसम्मका विभिन्न स्थानमा भलाई कोषको टोली पुग्ने अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । 

    ‘त्यसक्रममा यातायात व्यवसायी प्रा.लि.तथा यातायात व्यवसायी समिति, विभिन्न प्रकारका यातायातका सवारीसाधनका व्यवसायी संघसँग भेट गर्नुका साथै प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ भने हेटौडा र वीरगंजमा कार्यालयको स्थापना गरिने छ’–अध्यक्ष फुल्लेलले भने ।

    त्यस्तै कोषले आगामी फागुन १ गतेदेखि रुपन्देही जिल्लाका उद्योग वाणिज्य संघ तथा उद्योग संघ लगायतका संघ–संस्था तथा विभिन्न कलकारखाना, फ्याक्ट्री, सिमेण्ट फ्याक्ट्री, तथा ईट्टाभट्टा लगायत अन्य व्यवसायिक संघ–संस्थामा भेटघाट तथा अभियान सञ्चालन गर्ने कोषका उपाध्यक्ष छविलाल थापाले बताए ।

    सम्भावित स्थानमा शाखा विस्तारको अभियान अन्तर्गत दाङ जिल्लाको तुलसीपुर लगायत अन्य स्थानमा पनि शाखा विस्तार तथा कोष वृद्धि अभियान लुम्बिनी प्रदेशभर चलाउने, ८७ दिनको उपलब्धि प्रगति विशेष अभियानमा आइपरेका समस्या, उपलब्धि, चुनौती सबैको समीक्षा गरी आगामी २०८२ वैशाख ३ गते कोषको स्थापना दिवसको दिन अभियान समापन गरिने कोषका महासचिव योगबहादुर गुरुङले जानकारी दिए ।

    यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले पशुपंक्षीको मृत्युमा पनि लगानी गर्दै आइरहेको छ । त्यस्तै निर्जीव दुर्घटनामा समेत लगानी गरी व्यवसायीलाई दुर्घटनाको झण्झटबाट मुक्त गराउने गरिएको कोषका सचिव विजेश न्यौपानेले बताए । 

    कोषमा वार्षिक मासिक शुल्क बुझाइरहेका सवारी दुर्घटनामा परी अंगभंग भएका असहाय, अपाङ्ग मजदूरहरुलाई मासिक रुपमा कोषले अपाङ्ग मजदुर सहयोग गर्दै आइरहेको कोषका कोषाध्यक्ष प्रकाश कुमार नेपालले बताए ।