२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

मुद्रण उद्योग संघ रुपन्देहीको साधारणसभा, छपाई नीतिमा परिवर्तन गर्न माग

शनिवार , पौष २७, २०८१

  • 496
    Shares
  • 496
    Shares

  • बुटवल, २७ पुस । मुद्रण उद्योग संघ रुपन्देहीको १० औं वार्षिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ । सभामा बोल्नै वक्ताहरुले छापाखाना सञ्चालन गर्दै आएका मुद्रण व्यवसायीहरुको विस्तारको लागि सरकारी नीतिहरु बाधक रहेको बताउँदै छपाई सम्बन्धित नीतिहरुमा व्यापक परिवर्तनहरु गर्नुपर्नेमा जोड दिएका थिए । 

    उनीहरुले कच्चा पदार्थ ल्याउँदा कर लगाउने तर, तयार सामग्री ल्याउदा करको दर निकै कम हुँदा भारतीय मुलुकबाट छपाई सम्बन्धि कामहरु गर्ने गरेको बताउँदै यो नीति परिवर्तन हुनुपर्ने उल्लेख गरेका थिए । 
    कार्यक्रममा बोल्दै सहभागीहरुले व्यवसायीहरुले मुद्रण व्यवसायीलाई सम्मानजनक व्यवहार हुनुपर्ने भन्दै रोजगारी समेत प्रदान गर्दै आएका व्यवसायीहरुको सोचेजस्तो सफलता प्राप्त नभएको गुनासो गरेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय अध्यक्ष बिष्णु तिवारीले मुद्रण उद्योगलाई राज्यले सम्मान गर्न नसकेको बताउँदै यसो हुँदा व्यवसायीहरु पलायन हुन थालेको बताए । उनले आफूहरु उद्योगीहरुको लागि सरकार समक्ष लडे पनि कार्यक्रममा बोल्दै सरकारले सम्बन्धित काम नगरेको बताए ।

    महासंघका द्वितीय उपाध्यक्ष मनोज जि.सी.ले उत्पादित सामग्रीमा कर नलाग्ने तर, कच्चा पदार्थमा कर लाग्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गरे । संस्थापक अध्यक्ष खेम प्रसाद लुईटेलले व्यवसायीहरु पलायन भइरहेको संकेत देखिरहेको उल्लेख गर्दै संघलाई बलियो र व्यवस्थित बनाउनको लागि थप गृहकार्य गर्न आग्रह गरे । 

    रुपन्देही अध्यक्ष पशुपति पौडेलले सरकारले स्वदेशी वस्तु उपभोग गर्ने सम्बन्धि निर्देशिका २०७१ अनुसार पनि स्वदेशी उद्योग तथा कच्चा पदार्थ निर्मित वस्तु खरिद गर्ने अवधारणा ल्याए पनि कार्यान्वयन पक्ष कमजोर रहेको गुनासो गरे । 

    रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका गुनासो बोक्दै सरकारसमक्ष पुगे पनि नसुनेको गुनासो गरे । उनले मुद्रण उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै स्वदेशी उद्योगहरुमार्फत नै कामहरु गर्नुपर्ने उल्लेख गरेका थिए । मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम घिमिरेले राज्यले स्वदेश वस्तुको उपभोगमा ध्यान दिनुपर्ने भएपनि यसो हुन नसकिरहेको बताए । 

    कार्यक्रममा रुपन्देही व्यापार संघका कोषाध्यक्ष मणि खनाल, उद्योग ब्यापार संघका उपाध्यक्ष केशव श्रीस, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, इम्प्रेसन नेपालका अध्यक्ष गोपाल सुवेदी लगायतले बोलेका थिए । सो अवसरमा बुटवल नगर गानका रचनाकार संघका सल्लाहकार डिल्ली नारायण पाण्डेयलाई सम्मान समेत गरिएको थियो ।

    संघका सचिव राजु घिमिरेको सञ्चालन तथा द्वितीय उपाध्यक्ष सागर पाठकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाले अध्यक्ष पौडेलको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भरतराज पाठकको आर्थिक प्रतिवेदन पारित गरेको छ ।