
मंगलवार , पौष २३, २०८१
बुटवल, २३ पुस । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । रुपन्देहीको बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुस १९ र २० गरी दुईदिन सम्मेलन चलेको थियो ।
रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना, रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आतिथ्यता र देशैभरका विभिन्न २० वटा क्लबहरुको सह–आतिथ्यतामा आयोजित सम्मेलनले करिब १ हजार ४ सय भन्दा बढी सहभागीहरूलाई आकर्षित गर्दै युवाहरुको नेतृत्व, संलग्नता र उद्यमशीलतालाई केन्द्रमा राखेको थियो । सम्मेलनले सहभागीहरूलाई आफ्नो उर्जा राष्ट्र निर्माणमा उपयोग गर्न प्रेरित गरेको थियो ।
रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्वअध्यक्ष एवं सम्मेलन चियर रितेश ज्ञवालीको अध्यक्षता, आतिथ्य क्लब रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेलको सह–अध्यक्षता रहेको कार्यक्रममा डिष्ट्रिक्ट सेसनको अध्यक्षता रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का डिआरआर विक्रम क्षेत्रीले गरेका थिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेय, आईपी डीजी राजेन्द्र ध्वजु, डीआरसीसी कृष्ण प्रसाद पाण्डे र आईपी डीआरआर रोशन कार्की को विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा डीआरआर विक्रम क्षेत्रीले आफूले नेतृत्व लिए यता रोट्रयाक्ट डिष्ट्रिक्टबाट भए–गरेका रोट्रयाक्ट गतिविधिको जानकारी गराएका थिए । डीआरआर इलेक्ट दिनेश गैरेले वर्ष २०२५–२६ का लागि आफ्नो टीम प्रस्तुत गरेका थिए ।
वर्ष २०२६–२७ को नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियामा रोट्रयाक्ट क्लब अफ भैरहवाका प्रकाश शर्मा निर्वाचित भइ वर्ष २०२६–२७ डीआरआर घोषित भएको डीआरसी मेम्बर तथा निर्वाचन कमिटीका सदस्य रेशम खड्काले जानकारी दिए ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा व्यवस्थापन र यसको नेपालको परिवर्तनमा भूमिकाबारे चर्चा गरे ।
नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय साक्षरता र युवा उद्यमशीलताको महत्वमा जोड दिदै अरुको सहारामा भन्दा आफ्नो सक्षमतामा विश्वास गरे अवश्य सफल भइने जिकिर गरे ।
मानवसेवा आश्रमका संस्थापक रामजी अधिकारीले समाजसेवा र मानवतावादको प्रेरणादायी कामबारे चर्चा गरे । कार्यक्रममा शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका एचआर र रणनीति विज्ञ प्रभास राईले बैंकिङ्गमा युवा नेतृत्व र दिगो विकासबारे आफ्नो अनुभव प्रस्तुत गरे ।
युवा, राजनीति र अबको देश शिर्षकको प्यानल सेसनमा सांसदहरु ज्ञानेन्द्र शाही, ठाकुर गैरे र सञ्जय कुमार गौतमले युवाहरूका लागि राजनीतिक नेतृत्वका चुनौती र अवसरहरूबारे गतिशील छलफल गरेका थिए । वक्ताहरूले शासन, नीतिनिर्माण, र समाज परिवर्तनमा युवाको सक्रिय सहभागिताको महत्वमा जोड दिए । उनीहरूले युवा नेताहरूलाई पारदर्शी र समावेशी राजनीतिक प्रणाली निर्माण गर्न आह्वान गरे ।
माईन्ड म्यानेजमेन्ट प्यानल सेसनमा, आईएस्कन नेपालका सचिव रूपेश्वर गौर दास, आध्यात्मिक प्रशिक्षक चैतन्य कृष्ण र मानसिक स्वास्थ्य उत्प्रेरक श्रेया गिरी सहभागी थिए । प्यानलले भावनात्मक दृढता र मस्तिष्कको शान्तिमाथि ध्यान केन्द्रित गरेको थियो । विशेषज्ञहरूले तनाव व्यवस्थापन, आत्म शान्ति र मानसिक सन्तुलन कायम राख्नका लागि विभिन्न विधिहरू प्रस्तुत गरेका थिए ।
सम्मेलनको व्यवस्थापनका लागि रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पूर्वअध्यक्षहरु निशान कार्की, यादव भट्टराई, जीवन गौतम, ध्रुव केसी, अमृत भुसाल र भुपेन पाण्डेले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
सम्मेलनका विभिन्न सेसन तथा कार्यक्रमहरु डिष्ट्रिक्ट सेक्रेटरी सुबिन खड्का, असिस्टेन्ट डिष्ट्रिक्ट सेक्रेटरी अनुप पाण्डे, मिडिया संयोजक आबिस्कार खनाल, एडिएलटी आविष्कार पराजुली र रोट्रयाक्ट बुटवल साउथकी उपाध्यक्ष रोशनी भण्डारी कार्यक्रम सञ्चालकको भूमिकामा थिए ।
सम्मेलनको पहिलो दिन १९ गते बेलुका भएको सांगीतिक कार्यक्रममा गायक बसन्त श्रेष्ठ एन्ड फ्रेन्स ब्यान्ड र स्टार इन्टरटेन्मेन्टको बेजोड सांगीतिक प्रस्तुति रहेको मिडिया संयोजक आबिस्कार खनालले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij